मन्थली । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले सरकारले सर्वसाधारण नागरिकलाई भार पर्ने गरी ल्याएको कर नीतिविरुद्ध देशव्यापी अभियान सञ्चालन गर्ने बताएका छन्।
आइतबार मन्थलीमा आयोजित हस्ताक्षर सङ्कलन अभियान तथा पत्रकार भेटघाट कार्यक्रममा बोल्दै घिसिङले भदौ १ गतेदेखि सुरु गरिएको हस्ताक्षर अभियान स्थानीय तहसम्म विस्तार गरिने बताए। एक महिनासम्म हस्ताक्षर सङ्कलन गरी सरकारलाई बुझाउने उनको भनाइ छ।
घिसिङले विद्युत्मा भ्याट, राइड सेयरिङलगायतमा कर लगाउने सरकारको नीति गलत भएको टिप्पणी गरे। विद्युत् खपत बढाएर ग्यास तथा पेट्रोलियम पदार्थ विस्थापन गर्नुपर्ने बेला कर लगाएर नागरिकलाई निरुत्साहित गरिएको उनले बताए।
विद्युत् प्राधिकरणको बक्यौता असुलीमा ध्यान नदिई सर्वसाधारणमाथि करको भार थप्नु अस्वीकार्य रहेको घिसिङको भनाइ छ। उनले जनतामाथि लगाइएको अनावश्यक कर हटाउन सरकारसँग माग गर्दै माग सुनुवाइ नभए थप कदम चाल्ने चेतावनी दिए।


