धादिङ । पृथ्वी राजमार्गअन्तर्गत कृष्णभीरमा बाढीका कारण भासिएको सडकको विकल्पका रूपमा नयाँ ट्र्याक निर्माण गरिएको छ। त्रिशूली नदीमा आएको बाढीले गत भदौ १४ गते सडक भासिएपछि सडकको माथिल्लो भागबाट नयाँ ट्र्याक निर्माण गरी यातायात सञ्चालनको तयारी गरिएको हो।
भासिएको सडकखण्डमा करिब २५२ मिटर लामो नयाँ ट्र्याक खोलिएको छ। अहिले ट्र्याकको ग्रेड मिलाउने काम भइरहेको र त्यसपछि ग्राभेल गर्ने तयारी रहेको सडक विभागले जनाएको छ।
सडक विभागका महानिर्देशक विजय जैसीका अनुसार सडक सुधारको काम अन्तिम चरणमा पुगेको छ। उनका अनुसार बिहीबारदेखि कृष्णभीरमा दुईतर्फी नै सवारी साधन सञ्चालन गर्ने तयारी गरिएको छ।
‘अहिले सडक सुधार गरेर सवारी सञ्चालनको अन्तिम तयारीमा छौँ। बिहीबारदेखि दुईतर्फी नै सवारी खुल्ला गर्छौं,’ महानिर्देशक जैसीले भने।
सडक भासिएको सात दिनपछि अर्थात् भदौ २० गते कृष्णभीरमा डाइभर्सन ट्र्याक खोलिएको थियो। यातायात सहज बनाउन सडक विभागले नेपाल जियो टेक्निकल सोसाइटीसँग समझदारीपत्र (एमओयू) गरी प्राविधिक सहकार्यमा ट्र्याक निर्माणको काम अघि बढाएको थियो। हाल सडक विभागको प्राविधिक टोली कृष्णभीरमै खटिएर सडक सुधारको काम गरिरहेको छ।
नयाँ ट्र्याक सञ्चालनमा आएपछि यात्रुवाहक बस, ग्यास बुलेट, पेट्रोलियम पदार्थ बोकेका सवारीसहित सबै प्रकारका सवारी साधनलाई सहज रूपमा आवतजावत गर्न दिइने विभागले जनाएको छ।
काठमाडौं प्रवेश गर्ने मुख्य मार्ग तथा ‘लाइफलाइन’ मानिने पृथ्वी राजमार्गको कृष्णभीर सडकखण्ड अवरुद्ध भएपछि राजधानीतर्फ दैनिक उपभोग्य वस्तु तथा पेट्रोलियम पदार्थ ढुवानीमा समेत समस्या परेको थियो। नयाँ ट्र्याक सञ्चालनमा आएपछि उक्त समस्या केही हदसम्म सहज हुने अपेक्षा गरिएको छ।
यसैबीच कृष्णभीरको सडक समस्याको दीर्घकालीन समाधानका लागि पारिपट्टिबाट सडक सुधारको कामसमेत भइरहेको छ। स्थायी समाधानका रूपमा सुरुङमार्ग निर्माण गर्ने वा पुल बनाउने भन्ने विषयमा प्राविधिक अध्ययन भइरहेको सडक विभागका महानिर्देशक जैसीले जानकारी दिएका छन्।-0-


