नारायणगढ–मुग्लिन सडकखण्डमा दैनिक १० घण्टा सवारी आवागमन बन्द

चितवन । नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत तुइन खोला क्षेत्रमा सोमबारदेखि दैनिक १० घण्टा सवारी साधनको आवागमन आंशिक रूपमा बन्द हुने भएको छ।

तुइन खोला परियोजनाअन्तर्गत माटो कटानको काम अघि बढाउन निश्चित समयका लागि सडक बन्द गर्न लागिएको चितवनका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले जारी गरेको सूचनामा उल्लेख छ।

प्रशासनका अनुसार बिहान ६ बजेदेखि ८ बजेसम्म, ८ः३० देखि १०ः३० बजेसम्म, ११ बजेदेखि दिउँसो १ बजेसम्म, १ः३० देखि ३ः३० बजेसम्म र ४ बजेदेखि साँझ ६ बजेसम्म सडकमा सवारी आवागमन रोकिनेछ।

त्यस्तै, बिहान ८ देखि ८ः३०, १०ः३० देखि ११, दिउँसो १ देखि १ः३०, ३ः३० देखि ४ बजेसम्म र साँझ ६ बजेपछि भने सडकमा सवारी आवागमन खुला रहनेछ।

हाल मुग्लिन–काठमाडौं सडकखण्डको कृष्णभीरमा सडक मर्मतको काम भइरहेकाले नारायणगढ–मुग्लिन सडकमा सवारी चाप कम रहेको अवसरमा तुइन खोलामा माटो कटानको काम अघि बढाउन लागिएको प्रशासनले जनाएको छ।

प्रमुख जिल्ला अधिकारी अर्यालले तोकिएको समयतालिकालाई ध्यानमा राखेर मात्र यात्रा तथा सवारी सञ्चालनको योजना बनाउन यात्रु तथा चालकलाई आग्रह गरेका छन्।-0-

SHARE:

प्रतिक्रिया दिनुहोस्

थप समाचारहरू

ताजा समाचार