गृहमन्त्री सुधन गुरुङले जेन्जी आन्दोलनलाई अपमान नगर्न पुराना राजनीतिक दलका नेताहरूलाई चेतावनी दिएका छन्।
जेन्जी शहीद स्मृति दिवसका अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै गृहमन्त्री गुरुङले जेन्जी आन्दोलनको अपमान गर्नु तीन करोड नेपाली जनताको अपमान हुने बताएका हुन्।
उनले जेन्जी आन्दोलनको इतिहास कसैले परिवर्तन गर्न नसक्ने भन्दै पुराना दलका नेताहरूलाई आफ्नो सोच र कार्यशैली सुधार्न आग्रह गरे। “अझै समय छ, सुध्रिनुस्। त्यही पुरानो सोचले नयाँ नेपाल बनाउन सकिँदैन,” उनले भने।
गुरुङले सुशासनको पक्षमा उभिएका युवामाथि सरकारले गोली चलाएको उल्लेख गर्दै जेन्जी आन्दोलनका माग सम्बोधन गर्न सरकार प्रतिबद्ध रहेको बताए।
उनले पार्टी सभापति रवि लामिछाने र प्रधानमन्त्री बालेन शाहले देशमा सुशासन स्थापना गर्न आफूहरूलाई अगाडि सारेको दाबीसमेत गरे।
आफ्नो जिम्मेवारीप्रति आफू निकै सचेत रहेको उल्लेख गर्दै गृहमन्त्री गुरुङले सरकारका मन्त्रीहरूले जनताको पक्षमा काम गरिरहेको बताए। “मलाई सुत्न पनि डर लाग्छ, कतै मबाट कुनै कमजोरी पो भइहाल्ने हो कि भन्ने लाग्छ,” उनले भने।-0-


