राष्ट्रिय पन्छी रोग अन्वेषण प्रयोगशालाले एक वर्षमा चितवनसहित १६ जिल्लाका किसानले पालेका करिब ७ हजार कुखुराको पोष्टमार्टम गरी विभिन्न रोग पहिचान गरेको छ ।
प्रयोगशालाका प्रमुख डा. विजयकुमार श्रेष्ठका अनुसार पोष्टमार्टम गरिएका कुखुरामा विभिन्न प्रकारका रोग देखिएका छन् । प्रयोगशालाले पोष्टमार्टमसँगै कुखुराका नमुना परीक्षण गरी रोग पहिचान तथा उपचारका लागि आवश्यक सुझावसमेत दिँदै आएको छ ।
एक हजार ५०० कुखुराको नमुना परीक्षण गर्दा १० प्रकारका रोग पहिचान भएको प्रयोगशालाले जनाएको छ । परीक्षण गरिएका नमुनामध्ये २२ प्रतिशतमा इकोलाई, १३ प्रतिशतमा गम्बारो र नौ प्रतिशतमा घ्यारघ्यार रोग (सीआरडी) देखिएको छ । यस्तै, नौ प्रतिशतमा ढुसीजन्य रोग, चार प्रतिशतमा सीसीआरडी र ३.५ प्रतिशतमा साल्मोनेलोसिस देखिएको डा. श्रेष्ठले जानकारी दिनुभयो ।
त्यसैगरी, एभियन इन्फ्लुएन्जा, कुखुराको हैजा, आईबी र रानीखेतको संक्रमणसमेत पहिचान भएको छ । द्रुत परीक्षणअन्तर्गत २७८ नमुना परीक्षण गर्दा ४७ वटामा एभियन इन्फ्लुएन्जा संक्रमण देखिएको छ । गम्बारोका १७६ नमुना परीक्षण गर्दा १०९ वटामा संक्रमण पुष्टि भएको छ ।
रानीखेतका ९९ नमुना परीक्षण गर्दा सात वटामा तथा आईबीका ४६ नमुना परीक्षण गर्दा दुई वटामा संक्रमण देखिएको प्रयोगशालाले जनाएको छ ।
पीएटी विधिबाट ३६९ नमुना परीक्षण गर्दा १२ वटामा साल्मोनेला संक्रमण देखिएको छ । त्यस्तै, ३६० नमुना परीक्षण गर्दा १६ वटामा माइकोप्लाज्मा र एलाइजा विधिबाट १८४ नमुना परीक्षण गर्दा ३८ वटामा माइकोप्लाज्मा संक्रमण देखिएको छ ।
चिकेन इन्फेक्सस एनेमिया भाइरस (सीआईएभी) का १८४ नमुना परीक्षण गर्दा ९२ वटामा संक्रमण देखिएको डा. श्रेष्ठले बताउनुभयो । नौ सय कुखुराको नमुना कल्चर गर्दा ७८९ नमुनामा संक्रमण देखिएको थियो । संक्रमण देखिएका कुखुराका लागि कुन एन्टिबायोटिक प्रयोग गर्ने भन्नेबारे सेवाग्राहीलाई आवश्यक जानकारीसमेत दिइएको प्रयोगशालाले जनाएको छ ।
कुखुरामा रोगको संक्रमण रोकथामका लागि जैविक सुरक्षा (बायोसेक्युरिटी)लाई प्राथमिकता दिनुपर्ने डा. श्रेष्ठको भनाइ छ । कुखुरापालन क्षेत्रमा जैविक सुरक्षा अपनाउन नसक्दा रोगको जोखिम बढ्ने भएकाले किसानले खोर सरसफाइ, बाहिरी व्यक्तिको आवतजावत नियन्त्रण, संक्रमित कुखुराको व्यवस्थापन तथा आवश्यक स्वास्थ्य सावधानी अपनाउनुपर्ने उहाँले बताउनुभयो ।रासस


