डोकोमा चिऊरी, मनमा सपना—चेपाङ महिलाको आत्मनिर्भरताको कथा

गौतम गिरी/ कालिका चितवन –

रातको चार बजेको समय। अधिकांश मानिस निद्रामै हुन्छन्। तर चितवनको कालिका नगरपालिका–११, ग्यामदुङकी निरमाया चेपाङको दिन भने त्यही बेला सुरु हुन्छ।

एक डोकोमा करिब ३० किलो चिऊरी बोकेर उनी पाँच जना साथीहरूसँग ग्यामदुङबाट रन्तेशतर्फ पैदल यात्रा सुरु गर्छिन्। करिब डेढ घण्टाको उकालो–ओरालो पार गरेपछि उनीहरू रन्तेश पुग्छन्। त्यसपछि एउटा अटो रिजर्भ गरेर भरतपुरतर्फ लाग्छन्।

झिसमिसे बिहानीमै भरतपुर पुग्ने निरमायाको गन्तव्य हुन्छ—भरतपुर सरकारी अस्पताल अगाडिको चौतारा। त्यहीँबाट सुरु हुन्छ, उनीहरूको दिनभरिको मेहनत र संघर्षको अर्को अध्याय।

दुई वर्षदेखि निरमाया चिऊरी पाक्ने समयमा यसरीनै आफ्नै बारीमा फलेको चिऊरी बजारसम्म ल्याएर बेच्ने गर्छीन ।

उनी सम्झिन्छिन्, सुरुका दिन निकै डर लाग्थ्यो। “यत्रो दुःख गरेर ल्याएको चिऊरी बिक्री होला कि नहोला भन्ने चिन्ता हुन्थ्यो,” उनी भन्छिन्।

तर साथीहरूको साथ र “अर्गानिक चिज हो, चाखेर हेर्नुहोस्” भन्ने आग्रहसँगै विस्तारै ग्राहक बढ्न थाले। अहिले त भरतपुरमा धेरैले निरमायालाई चिन्न थालेका छन्।

उनी प्रतिकिलो १०० रुपैयाँमा चिऊरी बिक्री गर्छिन्।

मूल्य सस्तो भयो कि भन्ने प्रश्नमा उनी मुस्कुराउँदै भन्छिन्, “यो आफ्नै बारीको हो। किनेर ल्याएको होइन। त्यसैले १०० रुपैयाँ किलोमै हामी सन्तुष्ट छौँ।”

कुराकानीकै बीचमा ग्राहकहरू आउँछन्। कसैले चिऊरी कस्तो हुन्छ भनेर सोध्छन्, कसैले कसरी खाने भनेर। निरमाया हाँस्दै सबैलाई एउटै जवाफ दिन्छिन्—“मिठो छ हजुर, अर्गानिक हो, एकपटक चाख्नुस्।”

बिहानै ल्याएको एक डोको चिऊरी मध्यान्हसम्म लगभग सबै बिक्री भइसकेको हुन्छ।

बिक्रीबाट आएको पैसाले के गर्नुहुन्छ भन्ने प्रश्नमा उनी भन्छिन्, “अहिले रोपाइँ गर्ने बेला छ। त्यसैमा खर्च हुन्छ। बाँकी घरखर्च र बच्चाहरूको आवश्यकतामा काम लाग्छ।”

दुई छोरा, एक छोरी, श्रीमान् र सासु–ससुरासहितको परिवारको जिम्मेवारी निरमायाको काँधमा पनि छ। आफूले भोगेजस्तो दुःख आफ्ना छोराछोरीले भोग्नु नपरोस् भनेर उनीहरूलाई विद्यालयमा पढाइरहेकी छन्।

कुनै समय चिऊरी बोटबाट झरेपछि घरमै खाने, बियाँबाट तेल र पिना बनाउने वस्तुमा मात्र सीमित थियो। तर आज यही चिऊरी गाउँबाट बजारसम्म पुगेको छ।

चेपाङ समुदायको जीवनसँग गहिरोसँग जोडिएको चिऊरी अहिले अर्गानिक खाद्यका रूपमा धेरैको रोजाइ बन्न थालेको छ।

निरमाया चेपाङ र उनका साथीहरूको यो संघर्षले एउटा सन्देश दिन्छ—गाउँको उत्पादनलाई बजारसम्म पुर्‍याउन सके परिश्रमले आम्दानी दिन्छ, आत्मनिर्भरता बढाउँछ र स्थानीय उत्पादनको मूल्य पनि बढाउँछ।

यो केवल चिऊरी बेच्ने कथा होइन। यो मेहनत, आत्मविश्वास र सम्भावनाको कथा हो। गाउँको पसिना बजारसम्म पुग्दा जीवन पनि परिवर्तन हुन सक्छ भन्ने प्रेरणादायी उदाहरण हो—निरमाया चेपाङ। -0-

SHARE:

प्रतिक्रिया दिनुहोस्

थप समाचारहरू

ताजा समाचार