म्याग्दि ७ कार्तिक २०८२ पूर्ण गाउँपालिका–५ शिख स्वाँतका ६८ वर्षीय बलबहादुर तिलिजा पुनले पोखराको बसाइ छोडेर स्थायी रूपमा आफ्नै जन्मथलो फर्किने निर्णय गरेका छन्। भारतीय सेनाबाट सेवानिवृत्त क्याप्टेन तिलिजाले श्रीमती ज्यानमाया, जेठा छोरा नारायण र बुहारी कृष्णालाई लिएर २४ वर्षपछि गाउँ फर्किएर गाउँमै होटल व्यवसाय सुरु गरेका हुन्।
तिलिजाका एक छोरा बेलायती गोर्खा सैनिक छन् भने तीन छोरी क्रमशः हङकङ, अमेरिका र पोर्चुगलमा बस्छन्। पोखराको रामबजारमा बस्दै आएका तिलिजाले वृद्धावस्थामा शहरको भीडभाडभन्दा गाउँको स्वच्छ हावापानी र सहयोगी भावनायुक्त वातावरण रोजेका हुन्।
‘पैसाले मात्र सबथोक हुँदैन भन्ने बुझेँ,’ उनले भने, ‘गाउँमा मानवीय माया, सहयोगी भावना र आत्मसन्तुष्टि छ।’
गाउँ फर्किएपछि तिलिजाले छोराबुहारीलाई गाउँमै बसाउने उद्देश्यले स्वाँतमा करिब रु १ करोड ८० लाखको लगानीमा ‘प्यारामिड होटल’ स्थापना गरेका छन्। दुई रोपनी पाखो जमिनमा बनेको होटलमा प्यारामिड शैलीका १३ वटा सुत्ने कोठा छन्। यी कोठाहरूमा एट्याच बाथरुम, इन्टरनेट र चिसो याममा तातोपानीले नुहाउने सुविधा उपलब्ध छ।
होटलको संरचना भारतको सिलाङ र स्विजरल्याण्डका घरहरूको शैलीमा तयार गरिएको छ। काठको प्रयोग र जस्तापाटाको चुच्चो छानोले हिउँदमा न्यानो र बर्खामा चिसो रहोस् भन्ने उद्देश्य राखिएको तिलिजाको भनाइ छ। होटलमा परिवारका चार सदस्यसहित थप एक जना स्थानीयलाई रोजगारी दिइएको छ।
होटलमा सिस्नोको मुना, रातो च्याउ, लोकल कुखुरा, खसीबोकाको मासु, मकै र कोदोको ढिडो जस्ता स्थानीय परिकारहरू उपलब्ध छन्। स्वाँतबाट धौलागिरि हिमालको मनोरम दृश्य अवलोकन गर्न सकिनेछ भने छहरे झरना जस्ता आकर्षक स्थल नजिकै छन्।
अन्नपूर्ण चक्रीय पदमार्ग अन्तर्गत शिखदेखि करिब एक घण्टाको पैदल दूरीमा रहेको स्वाँतमा अहिले करिब २५ देखि ३० परिवार मात्रै बसोबास गर्छन्। गाउँमा सडक, खानेपानी, बिजुली, इन्टरनेट र मोबाइल सेवा पुगेको छ।
‘रित्तिदै गएको गाउँलाई पुनः जीवन दिने चाहनाले फर्किएको हुँ,’ तिलिजाले भने, ‘म चाहन्छु, मेरो कदमले अरूलाई पनि गाउँ फर्कने प्रेरणा दिओस्।’स्वाँत अहिले पर्यटकका लागि नयाँ आकर्षण बन्दै गएको छ। बलबहादुर तिलिजाको पहलले गाउँमा रोजगारी, पर्यटन र पुनः बसोबासको नयाँ सम्भावना उजागर गरेको स्थानीयहरू बताउँछन्।रासस् -0-


