जेनजी आन्दोलनपछि पनि घटेन वैदेशिक रोजगारीको आकर्षण

काठमाडौं । अघिल्लो वर्षको तुलनामा २०८२ सालमा वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिनेको संख्या बढेको छ । पश्चिम एसियामा युद्ध विस्तार भई ‘श्रम स्वीकृति’ रोकिँदा समेत वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिनेको संख्या बढेको हो ।

त्यतिमात्र होइन, २०८२ भदौ २३–२४ गते भएको जेनजी प्रदर्शनपछिको अवस्था देखाउँदै पश्चिम एसियाली राष्ट्रहरूले केही समय नेपालीलाई ‘वर्किङ भिसा’ दिन समेत रोकेका थिए । यसका बाबजुद पनि २०८१ सालको तुलनामा २०८२ सालमा वैदेशिक रोजगार विभागबाट श्रम स्वीकृति लिनेको संख्या बढेको हो ।

वैदेशिक रोजगार विभागका अनुसार, २०८१ सालको तुलनामा २०८२ सालमा वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिनेको संख्या १.०६ प्रतिशतले वृद्धि भएको छ ।

२०८२ वैशाख १ गतेदेखि चैत मसान्तसम्मको एक वर्षको अवधिमा वैदेशिक रोजगारीमा जान ८ लाख १८ हजार ७३० जनाले श्रम स्वीकृति लिएको विभागको तथ्याङ्कले देखाउँछ । श्रम स्वीकृति लिनेमा ९५ हजार ७१३ जना महिला र ७ लाख २३ हजार १७ जना पुरुष छन् ।-0-

SHARE:

प्रतिक्रिया दिनुहोस्

थप समाचारहरू

ताजा समाचार