शक्तिखोर–ऊपरदाङगढी सडकमा बढ्दो दुर्घटना न्युनिकरणाको लागि सचेतना बोर्ड अभियान

चितवन, चैत २२ — शक्तिखोर–ऊपरदाङगढी सडकखण्डमा पछिल्लो समय बढ्दो सवारी दुर्घटनालाई मध्यनजर गर्दै जोखिमयुक्त स्थानहरूमा ट्राफिक सचेतना बोर्ड राख्ने अभियान सुरु गरिएको छ। घुमाउरो मोड, उकालो–ओरालो तथा साँघुरा भागहरूका कारण यो सडक खण्ड जोखिमपूर्ण बन्दै जाँदा स्थानीय बासिन्दा र सरोकारवालाहरू चिन्तित बनेका छन्।

पछिल्ला केही हप्तामै भएका दुर्घटनाले सडक सुरक्षाको अवस्थाप्रति गम्भीर प्रश्न उठाएको छ। विशेषगरी केही समय अघि भएको भयानक अटो दुर्घटनाले क्षेत्रवासीलाई अझै स्तब्ध बनाइरहेको छ। दुर्घटनाका कारण धेरै परिवारले आफ्ना आफन्त गुमाउनुका साथै कयौं घाइते भएका छन्।

यस्तै परिस्थितिलाई ध्यानमा राख्दै इलाका प्रहरी कार्यालय जुटपानीको पहलमा दर्ब्यटार चोकदेखि ऊपरदाङगढीसम्म करिब ८ देखि १० स्थानमा सचेतनामूलक बोर्ड स्थापना गरिने भएको छ। ती बोर्डहरूमा गति नियन्त्रण, सावधानीपूर्वक सवारी चलाउने, जोखिमयुक्त मोडको जानकारीलगायतका सन्देश समावेश गरिने जनाइएको छ।

यो अभियान कालिका नगरपालिकाको आर्थिक सहयोग तथा इलाका प्रहरी कार्यालय जुटपानी र वडा नं. ९ को समन्वयमा अघि बढाइएको हो। सम्बन्धित निकायले सचेतना अभिवृद्धि नै दुर्घटना न्यूनीकरणको प्रमुख उपाय भएको उल्लेख गर्दै यस अभियानले सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गरेका छन्।

स्थानीय जनप्रतिनिधि, प्रहरी तथा सरोकारवालाहरूले सवारी चालकलाई तीव्र गति नियन्त्रण गर्न, मदिरा सेवनपछि सवारी नचलाउन तथा ट्राफिक नियमको पूर्ण पालना गर्न आग्रह गरेका छन्। साथै यात्रुहरूलाई पनि सुरक्षित यात्राका लागि सचेत रहन अनुरोध गरिएको छ।

सडक पूर्वाधार सुधारसँगै जनचेतना अभिवृद्धि गरिएमा मात्र दुर्घटना न्यूनीकरण सम्भव हुने भन्दै सम्बन्धित निकायहरूले यस्ता अभियानलाई निरन्तरता दिने बताएका छन्। “सचेतना नै सुरक्षा हो” भन्ने सन्देशलाई व्यवहारमा उतार्दै सुरक्षित यात्रा सुनिश्चित गर्न सबै पक्षको सहकार्य आवश्यक देखिएको छ।

SHARE:

प्रतिक्रिया दिनुहोस्

थप समाचारहरू

ताजा समाचार