कालिका–८ गैरीबारीमा निःशुल्क मुटु परीक्षण, २९५ जनाले लिए स्वास्थ्य सेवा

चितवन/कालिका –  मुटु दिवस २०२६ को अवसरमा चितवनको कालिका नगरपालिका–८, गैरीबारीस्थित श्री चक्रदेवी आधारभूत विद्यालयमा निःशुल्क मुटु परीक्षण शिविर सम्पन्न भएको छ।

चितवन मुटु अस्पताल प्रा.लि., सेभ हार्ट फाउण्डेशन नेपाल र नेपाल हार्ट फाउण्डेशनको संयुक्त आयोजनामा सम्पन्न शिविरमा विद्यालयका १७४ जना विद्यार्थी, ११ जना विद्यालय कर्मचारी तथा ११० जना ज्येष्ठ नागरिक र विपन्न व्यक्तिसहित कुल २९५ जनाको निःशुल्क मुटु परीक्षण गरिएको हो।

शिविरमा ईसीजी (ECG), इको (ECHO), रक्तचिनी परीक्षण, रक्तचाप जाँच गर्नुका साथै आवश्यकताअनुसार निःशुल्क औषधिसमेत वितरण गरिएको थियो।

कालिका नगरपालिका–८, गैरीबारी निवासी स्थानीय युवा तथा पूर्वविद्यार्थी साजन गुरुङको विशेष सहयोग र सक्रियतामा कार्यक्रम सञ्चालन गरिएको हो।

शिविरमा चितवन मुटु अस्पतालका वरिष्ठ मुटुरोग विशेषज्ञ डा. शंकर लौडारी, अस्पतालका अध्यक्ष प्रभात शर्मा, प्रबन्ध निर्देशक, सूचना अधिकारी महेश पाण्डे, इन्चार्ज तथा मेडिकल अफिसर डा. रचित यादव, प्रयोगशाला इन्चार्ज राजेश मिश्रा, आकस्मिक सेवा इन्चार्ज रघुविन्द्र यादव, स्टाफ नर्स तथा ओपीडी इन्चार्ज लक्ष्मी के.सी., स्टाफ नर्स मोनिका चिलवाल, प्रयोगशाला प्राविधिक अञ्जली थापा, रेडियोग्राफर बिनिता थापा मगरलगायत स्वास्थ्यकर्मीको सहभागिता रहेको थियो।

विद्यालयका प्रधानाध्यापक ईश्वर गुरुङले विद्यालयमा अध्ययनरत बालबालिकासहित ज्येष्ठ नागरिक र विपन्न समुदायका व्यक्तिको मुटु परीक्षण गर्ने अवसर प्रदान गरिएकोमा खुसी व्यक्त गर्नुभयो। उहाँले यस्ता स्वास्थ्य शिविरले बालबालिकामा हुन सक्ने सम्भावित मुटुसम्बन्धी समस्या समयमै पहिचान गर्न र उपचारको पहुँच विस्तार गर्न महत्त्वपूर्ण सहयोग पुग्ने बताउनुभयो।

प्रधानाध्यापक गुरुङले कार्यक्रम सफल बनाउन विशेष सहयोग गर्ने स्थानीय युवा तथा पूर्वविद्यार्थी साजन गुरुङ र चितवन मुटु अस्पतालप्रति धन्यवादसमेत व्यक्त गर्नुभयो।

स्वास्थ्य सेवाको पहुँचबाट टाढा रहेका नागरिकलाई लक्षित गरी सञ्चालन गरिएको शिविरले स्थानीयस्तरमा मुटुसम्बन्धी रोगको पहिचान, जनचेतना अभिवृद्धि तथा समयमै उपचारका लागि प्रेरित गर्ने अपेक्षा गरिएको छ।

— परिवेश नेपाल डटकम

SHARE:

प्रतिक्रिया दिनुहोस्

थप समाचारहरू

ताजा समाचार