कार्तिक ८, धनकुटा । धनकुटा, उदयपुर र भोजपुरको सङ्गमस्थल त्रिवेणीस्थित सप्तकोशी नदीमा मोटरबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने तीन जना बेपत्ता भएका छन् ।
दुर्घटनामा परी मृत्यु हुनेमध्ये सुनसरीको बराहक्षेत्र नगरपालिका–१ निवासी अन्दाजी ५२ वर्षीया लिला राईको पहिचान खुलेको छ । उनको चतरा अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । अन्य दुई मृतकको भने पहिचान खुल्न बाँकी रहेको छ ।
दुर्घटनापछि बेपत्ता भएका तीन जनाको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धानसमेत भइरहेको छ ।
नौ जना सकुशल तथा उद्धार
दुर्घटनाबाट उद्धार गरिएका तथा सकुशल रहेका व्यक्तिहरूमा मोटरबोट चालक सुनसरीको बराहक्षेत्र नगरपालिका–१ निवासी अन्दाजी २४ वर्षीय सुमन मगर रहेका छन् ।
त्यस्तै, भोजपुरको हतुवागढी गाउँपालिका–४ का अन्दाजी ४५ वर्षीय विष्णु सुनार, ४२ वर्षीया तीर्था रसाइली सुनार, २५ वर्षीया पूजा तिरुवा, २२ वर्षीय प्रज्वल तिरुवा, २६ वर्षीय देवेन्द्र राई, २३ वर्षीय रञ्जित राई र ३१ वर्षीय मोहन सुनार सकुशल रहेका छन् ।
यसैगरी, झापाको कनकाई नगरपालिका–४ निवासी अन्दाजी २९ वर्षीया निता मगर पनि उद्धार गरिएकी छन् ।
तीन जना अझै बेपत्ता
प्रहरीका अनुसार दुर्घटनापछि तीन जना अझै बेपत्ता छन् । बेपत्ता हुनेमा झापाको कनकाई नगरपालिका–४ निवासी अन्दाजी सात वर्षीय शिवक मगर, सुनसरीको बराहक्षेत्र नगरपालिका–१ निवासी २१ वर्षीया प्रमिला मगर र सोही स्थानकी २२ वर्षीया मनु राई रहेका छन् ।
बेपत्ता शिवक मगर निता मगरका छोरा हुन् ।
बेपत्ता व्यक्तिहरूको खोजी कार्य जारी रहेकाले घटनासम्बन्धी थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।


