राजमार्गका घाइतेको उपचारमा पनि महत्त्वपूर्ण हुने विश्वास

इच्छाकामना आधारभूत अस्पताल उद्घाटन

चितवन । चितवनको इच्छाकामना गाउँपालिकामा निर्माण सम्पन्न भएको १५ शय्याको इच्छाकामना आधारभूत अस्पतालको आइतबार औपचारिक उद्घाटन गरिएको छ। बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरको उपस्थितिमा गाउँपालिका–४ मा रहेको अस्पतालको उद्घाटन गरिएको हो। अस्पतालले गत बुधबारदेखि नै सेवा सुरु गरिसकेको छ।

अस्पतालको उद्घाटन गर्दै मुख्यमन्त्री मगरले पृथ्वी राजमार्ग र नारायणगढ–मुग्लिन सडकखण्डमा हुने सवारी दुर्घटनाका घाइतेको उपचारका लागि समेत अस्पताल महत्त्वपूर्ण बन्ने विश्वास व्यक्त गरे। देशकै प्रमुख राजमार्गको आसपासमा रहेको यस अस्पतालले स्थानीय नागरिकका साथै दुर्घटनामा परेका घाइतेलाई आधारभूत स्वास्थ्य सेवा उपलब्ध गराउन सहयोग पुग्ने उनको भनाइ थियो।

सुविधासम्पन्न भवन निर्माण भएसँगै अस्पतालको सेवा थप प्रभावकारी हुने विश्वास व्यक्त गर्दै मुख्यमन्त्री मगरले आफू स्वास्थ्यमन्त्री हुँदा पनि अस्पतालका लागि बजेट विनियोजन गरेको स्मरण गरे। प्रदेश सरकारले अहिले पनि अस्पतालका लागि बजेट विनियोजन गरेको जानकारी दिँदै उनले अस्पताल सञ्चालनका लागि आवश्यक प्रविधि र जनशक्ति उपलब्ध गराउन सहयोग गर्ने प्रतिबद्धता जनाए। उनले अस्पतालका लागि एक जना चिकित्सक चाँडै उपलब्ध गराउनेसमेत बताए।

कार्यक्रममा बागमती प्रदेशका स्वास्थ्य तथा सामाजिक विकासमन्त्री गिरबहादुर तामाङले ग्रामीण क्षेत्रमा रहेको अस्पताल भए पनि आवश्यकताअनुसार सेवा तथा सुविधा विस्तार गर्दै गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्न प्रदेश सरकारले सहयोग गर्ने बताए। नागरिकका लागि स्वास्थ्य सेवा सबैभन्दा महत्त्वपूर्ण भएकाले यसको सुदृढीकरणका लागि संघ, प्रदेश र स्थानीय गरी तीनै तहका सरकारबीच सहकार्य आवश्यक रहेको उनले उल्लेख गरे।


इच्छाकामना गाउँपालिकाका अध्यक्ष दानबहादुर गुरुङले यसअघि दारेचोक स्वास्थ्यचौकीबाट सेवा सञ्चालन गर्दा विभिन्न कठिनाइ भोग्नुपरेको बताउँदै सुविधायुक्त भवनबाट स्वास्थ्य सेवा सुरु गर्न पाउँदा खुसी व्यक्त गरे। अस्पताल सञ्चालनको सम्पूर्ण खर्च गाउँपालिकाले मात्र व्यवस्थापन गर्न कठिन हुने भएकाले आवश्यक उपकरण, प्राविधिक जनशक्ति र अन्य सुविधाका लागि प्रदेश सरकारको थप सहयोग आवश्यक रहेको उनले बताए।

अध्यक्ष गुरुङका अनुसार गाउँपालिकाले विपन्न नागरिक, सुत्केरी तथा आकस्मिक अवस्थाका बिरामीलाई निःशुल्क उपचार र एम्बुलेन्स सेवा उपलब्ध गराउँदै आएको छ। इच्छाकामना आधारभूत अस्पतालले चितवनका स्थानीय नागरिकसँगै गोरखा र धादिङलगायत छिमेकी जिल्लाका नागरिकलाई समेत स्वास्थ्य सेवा प्रदान गर्न सहयोग पुग्ने उनले बताए।

कार्यक्रममा गोरखाको गण्डकी गाउँपालिकाका अध्यक्ष दीपक तिमिल्सिना र सहिद लखन गाउँपालिकाका अध्यक्ष रमेशबाबु थापामगरले पनि अस्पतालको सेवा विस्तार र सञ्चालनका लागि कानुनअनुसार आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे। जिल्ला र पालिका फरक भए पनि नागरिकको स्वास्थ्य सेवामा अस्पतालले महत्त्वपूर्ण भूमिका खेल्ने भएकाले यसलाई साझा स्वास्थ्य संस्थाका रूपमा हेर्नुपर्ने उनीहरूको भनाइ थियो।

उद्घाटन समारोहमा बागमती प्रदेशका पूर्व वन तथा वातावरणमन्त्री कृष्णप्रसाद सिलवाल, जिल्ला समन्वय समिति चितवनका प्रमुख नारायणप्रसाद अधिकारी, इच्छाकामना गाउँपालिकाका संस्थापक अध्यक्ष गीताकुमारी गुरुङलगायतको उपस्थिति रहेको थियो।

१५ शय्याको इच्छाकामना आधारभूत अस्पताल सञ्चालनमा आएसँगै इच्छाकामना गाउँपालिका र आसपासका क्षेत्रका नागरिकलाई स्थानीय स्तरमै स्वास्थ्य सेवा प्राप्त गर्न सहज हुने अपेक्षा गरिएको छ। साथै, पृथ्वी राजमार्ग तथा नारायणगढ–मुग्लिन सडकखण्डमा हुने दुर्घटनाका घाइतेलाई समयमै उपचार उपलब्ध गराउनसमेत अस्पताल उपयोगी हुने विश्वास गरिएको छ।-0-

SHARE:

प्रतिक्रिया दिनुहोस्

थप समाचारहरू

ताजा समाचार