युद्धका बीच पनि इरानमा रोकिएन मृतुदण्ड दिने क्रम

काठमाडौं । इजरायल र अमेरिकासँगको युद्धका बीच इरानमा मृत्युदण्ड दिने क्रम नरोकिएको समाचार सार्वजनिक भएको छ । यसै हप्ता इरानमा १९ वर्षीय चर्चित कुस्ती खेलाडी र अन्य दुई युवकलाई फाँसी दिइएको छ । यी तीन युवकहरू गत जनवरीको प्रदर्शनपछि पक्राउ गरिएका हजारौँमध्ये थिए ।

मानवअधिकार समूहहरूले इरानमा अब फेरि फाँसीको लहर सुरु हुन सक्ने भन्दै चिन्ता जनाएका छन् । इरानी सरकारी सञ्चारमाध्यमका अनुसार, कुस्ती खेलाडी सालेह मोहम्मदीलाई बिहीबार बिहान मेहदी कासेमी र सइद दाउदीसँगै राजधानी तेहरानको दक्षिणी क्षेत्र कोममा फाँसी दिइएको हो ।

यी तीनै युवकहरूलाई विरोध प्रदर्शनका क्रममा दुई प्रहरी अधिकारीको हत्या गरेको र ‘मोहरेबेह’ अर्थात् ‘ईश्वरविरुद्ध युद्ध छेडेको’ आरोपमा सजाय सुनाइएको थियो । अन्तर्राष्ट्रिय मानवअधिकार संगठन एम्नेस्टी इन्टरनेशनलले यी तीन युवक र अन्य गिरफ्तार गरिएका व्यक्तिहरूलाई दिइएको सजाय अनुचित सुनुवाइको नतिजा भएको र उनीहरूलाई यातना दिएर जबरजस्ती बयान लिन लगाइएको बताएको छ ।

सालेह मोहम्मदी कुस्ती क्षेत्रमा चिनिएको नाम हो । उनले सन् २०२४ मा रुसमा भएको अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक जितेका थिए ।

ओस्लोमा रहेको मानव अधिकार संगठन ‘इरान ह्युमन राइट्स’का निर्देशक महमुद अमिरी मोगद्दामले यी फाँसीहरूको उद्देश्य अमेरिका–इजरायलसँग जारी युद्धका बीच इरानी समाजमा डर पैदा गर्नु र नयाँ विरोध प्रदर्शनहरूलाई दबाउनु रहेको बताएका छन् । उनले अन्य धेरै प्रदर्शनकारी र राजनीतिक कैदीहरूलाई पनि छिट्टै फाँसी दिन सकिने चिन्ता व्यक्त गरेका छन् । मोगद्दामको संगठनले कम्तीमा २७ जनालाई मृत्युदण्ड दिइसकेको रेकर्ड राखेको छ, जबकि अन्य १०० जनामाथि मृत्युदण्ड हुन सक्ने खालका गम्भीर आरोपहरू लगाइएका छन् ।

इरानमा २०२५ को अन्त्य र यस वर्षको जनवरीमा भएको देशव्यापी प्रदर्शनमा सुरक्षा बलले प्रदर्शनकारीविरुद्ध अत्यन्तै हिंसात्मक कारबाही गरेको थियो । अमेरिकाको एक मानवअधिकार एजेन्सीले यस अवधिमा सात हजारभन्दा बढी मारिएको र ५० हजारभन्दा बढी गिरफ्तार गरिएको दाबी गरेको छ । यद्यपि, इरानी सरकारले भने तीन हजारभन्दा बढीको मृत्यु भएको कुरा स्वीकार गरेको थियो ।-0-

SHARE:

प्रतिक्रिया दिनुहोस्

थप समाचारहरू

ताजा समाचार