प्रतिनिधिसभा निर्वाचनमा कमजोर मतपरिणामपछि एमालेभित्र पार्टी पुनर्गठनको बहस चलिरहेको बेला तल्लो तहका कमिटीहरुले नै नेतृत्वपंक्तिलाई दबाब दिन थालेका छन् । पाल्पामा पार्टीको तानसेन नगर कमिटीसहित १४ वटा कमिटी भंग गरिएको छ । पाल्पा निर्वाचन क्षेत्र नम्बर २ बाट उम्मेदवार बनेका ठाकुरप्रसाद गैरे पराजित भएपछि स्थानीय नेताहरुले त्यसको जिम्मेवारी लिँदै पालिका तहका कमिटीहरु विघटन गरेका हुन् ।
आज तानेसनमा बसेको चुनावी समीक्षा बैठकले उक्त निर्णय गरेको हो । ०७९ को निर्वाचनमा सो नगरबाट एमालेले झण्डै १० हजार मत पाएकोमा यसपटक आधा पनि पाउन सकेन । कमजोर मतपरिणामपछि नगर कमिटीका अध्यक्ष गुराँस आत्रेयले सबै वडा कमिटी विघटन गरिएको घोषणा गरेका हुन् ।
उक्त निर्णयले पार्टीको माथिल्लो तहलाई पनि पुनर्गठनको निम्ति दबाब सिर्जना हुने उनको विश्वास छ । तानसेनमा आगामी जेठ ३ गते मदनआश्रित स्मृति दिवसको अवसरमा नगर अधिवेशन गर्ने सहमति भएको छ । त्यसको तीन महिनाभित्र सबै वडामा नयाँ कमिटी गठन गर्ने तयारी छ ।
अघिल्लो निर्वाचनमा उक्त निर्वाचन क्षेत्रबाट गैरे २७ हजारभन्दा बढी मतसहित प्रतिनिधिसभा सदस्य निर्वाचित भएका थिए । यस पटक रास्वपाका माधवबहादुर थापा निर्वाचित भएका हुन् ।-0-


