वेस्ट ह्यामसँग अंक बाँड्न बाध्य

हालान्डको लय घट्दा सिटीको उपाधि सपना संकटमा

काठमाडौँ । इंग्लिस प्रिमियर लिगको उपाधि दौडमा साविक विजेता म्यान्चेस्टर सिटीकोको सम्भावना कमजोर बन्दै गएको छ ।

शनिबार राति वेस्ट ह्याम युनाइटेडसँग १–१ को बराबरी खेलेपछि सिटी लिग लिडर आर्सनल भन्दा ९ अंकले पछाडि परेको छ, यद्यपि सिटीसँग एक खेल कम छ । दुबै गोल पहिलो हाफमा सम्भव भएको थियो । ३१ औं मिनेटमा बर्नार्डो सिल्भाले गोल गर्दै सिटीलाई सुरुवाती अग्रता दिलाएका थिए ।

३५ औं मिनेटमा कोन्स्टान्टिनोस माभ्रोपानोसले गोल फर्काउँदै घरेलु टोलिलाई बराबरीमा ल्याए ।

लन्डन स्टेडियममा भएको खेलमा सिटीले बल नियन्त्रण धेरै गरे पनि निर्णायक गोल गर्न सकेन । सिटीका मुख्य स्ट्राइकर एर्लिङ हालान्ड पनि लयमा देखिएनन् ।

उनले यस सिजनका पहिलो १७ लिग खेलमा १९ गोल गरे पनि पछिल्ला १२ खेलमा मात्र तीन गोल गरेका छन् ।

प्रशिक्षक पेप ग्वार्डिओलाले टोली अझै ‘सन्तुलन खोज्ने प्रक्रियामा’ रहेको स्वीकार गरेका छन् । जनवरीमा एन्टोनी सेमेन्यो टोलीमा आएपछि ग्वार्डिओलाले दुई स्ट्राइकर प्रयोग गर्ने नयाँ प्रणाली अपनाएका छन्, तर यसले अपेक्षित प्रभाव दिन सकेको छैन ।

वेस्ट ह्यामविरुद्ध दोस्रो हाफमा रायन चेर्की मैदान प्रवेश गरेपछि सिटीको आक्रमण सुधारिएको थियो । टोलीले २४ प्रहार गरे पनि विजयी गोल निकाल्न सकेन ।

अब सिटीका लागि आगामी खेलहरू निकै महत्वपूर्ण छन् । अप्रिलमा हुने आर्सनलविरुद्धको लिग खेलले सिटीको उपाधि दौड जीवित छ कि छैन भन्ने लगभग तय गर्नेछ ।

SHARE:

प्रतिक्रिया दिनुहोस्

थप समाचारहरू

ताजा समाचार