काठमाडौं । देशका केही स्थानमा आज वर्षा र हिमपातको सम्भावना छ । मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना रहेको हो ।
जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो कोसी प्रदेशलगायत बाँकी पहाडी र हिमाली भूभागमा साधारणतया बादल लाग्नेछ । बाँकी भूभागमा आंशिक बादल लाग्नेछ ।
कोसी प्रदेशलगायत वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशको पहाडी र हिमाली भूभागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा र हिमपातको सम्भावना छ ।
कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी र हिमाली भूभाग तथा मधेस, वाग्मती र गण्डकी प्रदेशको तराई भूभागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा र हिमपातको सम्भावना छ ।
विभागले राति कोसी प्रदेशलगायत वाग्मती र गण्डकी प्रदेशको पहाडी र हिमाली भूभागमा साधारणतया बादल लाग्ने बताएको छ । बाँकी भूभागमा आंशिक बादल लाग्नेछ ।
कोसी, वाग्मती र गण्डकी प्रदेशका पहाडी र हिमाली भूभागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा र हिमपातको सम्भावना छ ।
हाल नेपालमा पश्चिमी न्यूनचापीय प्रणाली, उपल्लो वायुमण्डलमा रहेको उच्चचापीय प्रणाली र नेपालको पूर्वी भूभागनजिक तल्लो वायुमण्डलमा रहेको न्यूनचापीय क्षेत्रको आंशिक प्रभाव रहेको विभागले प्रस्ट पारेको छ ।
बिहीबार चितवन, गोरखालगायत केही स्थानमा छोटो समयमा भारी वर्षा भएको थियो ।


