काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा प्रतिनिधिसभा निर्वाचन सम्पन्न भएकामा केन्द्रीय सुरक्षा समिति, प्रदेश कमान्ड पोष्ट तथा जिल्ला सुरक्षा समितिका पदाधिकारीहरूलाई धन्यवाद ज्ञापन गरेका छन् ।
गृहसचिव राजकुमार श्रेष्ठ, चारवटै सुरक्षा निकायका प्रमुख, मन्त्रालयका महाशाखा प्रमुखहरू, प्रदेश कमान्ड पोष्टका पदाधिकारी तथा जिल्ला सुरक्षा समितिका पदाधिकारीहरूको सहभागितामा भर्चुअल माध्यमबाट बुधबार भएको बैठकमा निर्वाचनको समीक्षा गर्दै धन्यवाद ज्ञापन गरे ।
केन्द्रीय सुरक्षा समिति, प्रदेशको प्रमुख सचिव संयोजक रहने सातै प्रदेशका प्रदेश कमाण्ड पोष्टका पदाधिकारी तथा प्रमुख जिल्ला अधिकारी संयोजक रहने ७७ वटै जिल्लाका जिल्ला सुरक्षा समितिका पदाधिकारीहरूलाई मन्त्री अर्यालले रक्तपातविहीन ऐतिहासिक निर्वाचन सम्पन्न गर्न आ–आफ्नो भूमिका सफलतापूर्वक निर्वाह गरेकामा सबैलाई धन्यवाद ज्ञापन गरे ।-0-


