चितवन । कालिका नगरपालिका–८ गैरीबारीस्थित श्री चक्रदेवी आधारभूत विद्यालयमा आज सम्पन्न ४७औँ वार्षिकोत्सव तथा अभिभावक दिवसको अवसरमा विद्यालयको शैक्षिक गुणस्तर अभिवृद्धि गर्ने उद्देश्यले उल्लेखनीय सहयोग प्राप्त भएको छ।

विद्यालयका पूर्व विद्यार्थी तथा समाजसेवी युवा श्री साजन गुरुङले विद्यालयको दीर्घकालीन शैक्षिक विकासका लागि रु ५ लाख रुपैयाँको अक्षयकोष स्थापना गर्नुभएको हो। आफ्नै अध्ययनकालसँग जोडिएको विद्यालयप्रति कृतज्ञता व्यक्त गर्दै उहाँले भावी पुस्ताको उज्यालो भविष्यका लागि यो योगदान दिएको बताउनुभयो।
त्यसैगरी, विद्यालयका प्रधानाध्यापक श्री ईश्वर गुरुङले पनि आफ्नो परिवारको सम्झनामा रु १ लाख रुपैयाँको अक्षयकोष स्थापना गर्नुभएको छ। उक्त अक्षयकोषबाट विद्यालयको शैक्षिक गतिविधि सुदृढीकरण तथा विद्यार्थी हितका कार्यक्रम सञ्चालन गरिने विद्यालयले जनाएको छ।
पूर्व विद्यार्थी र विद्यालय नेतृत्वबाट आएको यस किसिमको सकारात्मक पहलले सामुदायिक विद्यालयप्रतिको भरोसा थप मजबुत बनाएको भन्दै अभिभावक, शिक्षक तथा स्थानीयवासीले खुसी व्यक्त गरेका छन्।-0-
#News


