अनेरास्ववियु क्याम्पस कमिटी, बालकुमारी कलेजको आयोजनामा यही मिति २०८२/०९/०७ गते दोस्रो संस्करणको अन्तरकलेज फुटसल प्रतियोगिता भव्य र उत्साहपूर्ण वातावरणमा सम्पन्न भएको छ। प्रतियोगितामा १६ वटा टिमको सहभागिता रहेको थियो, जसले प्रतिस्पर्धात्मक र रोमाञ्चक खेल प्रस्तुत गरेका थिए।
प्रतियोगिताको फाइनल खेलमा उत्कृष्ट प्रदर्शन गर्दै आयोजक बालकुमारी कलेजले उपाधि हात पार्न सफल भएको छ भने विरेन्द्र बहुमुखी क्याम्पस उपविजेता बनेको छ। खेल अवधिभर विद्यार्थी खेलाडीहरूको जोश, अनुशासन र खेल भावना प्रशंसनीय रहेको आयोजकले जनाएको छ।
कार्यक्रममा अनेरास्ववियु केन्द्रिय कमिटीका सचिव क. रचना सापकोटाको प्रमुख आतिथ्यता रहेको थियो। प्रमुख वक्ताको रूपमा नेकपा (एमाले) चितवन जिल्ला पार्टी अध्यक्ष क. कमलराज पाठकले विद्यार्थीहरूलाई खेलकुदले अनुशासन, नेतृत्व र एकताको भावना विकास गर्ने उल्लेख गर्नुभयो।
त्यसैगरी कार्यक्रममा जिल्ला पार्टी सचिवालय सदस्य तथा विद्यार्थी फाँट प्रमुख क. अनोज जोशी, अनेरास्ववियु केन्द्रिय कमिटी सदस्य क. प्रशान्त सुवेदी, अनेरास्ववियुका विभिन्न तहका नेताहरू तथा राष्ट्रिय युवा संघ नेपाल चितवन जिल्लाका संयोजक क. सन्तोष श्रेष्ठलगायतको उल्लेखनीय उपस्थिति रहेको थियो।
प्रतियोगिता सफलतापूर्वक सम्पन्न गर्न सहयोग पुर्याउने बालकुमारी कलेज प्रशासनप्रति आयोजकले विशेष धन्यवाद व्यक्त गरेको छ। साथै प्रतियोगिताका प्रायोजक Subarashii Language Centre Pvt. Ltd., Ashim Travels & Tours Pvt. Ltd. तथा Expert Education & Visa Services Chitwan प्रति आभार व्यक्त गरिएको छ।
कार्यक्रम संयोजक क. अनिश दुलालले प्रतियोगितामा सहभागी सबै टिम, निर्णायक, स्वयंसेवक तथा प्रत्यक्ष–अप्रत्यक्ष रूपमा सहयोग गर्ने सम्पूर्णलाई धन्यवाद व्यक्त गर्दै आगामी दिनमा अझ व्यवस्थित र वृहत् खेलकुद कार्यक्रम आयोजना गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।


