काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)–२०२५ निर्णायक मोडमा पुगेको छ । आज कीर्तिपुरस्थित त्रिवि क्रिकेट रंगशालामा सुदूरपश्चिम रोयल्स र लुम्बिनी लायन्स पहिलो पटक च्याम्पियन बन्ने लक्ष्यसहित फाइनलमा भिड्दैछन् । खेल दिउँसो ३ः३० बजेदेखि सुरु हुने तालिका छ र रंगशाला ‘हाउसफूल’ हुने अपेक्षा गरिएको छ ।
लगातार उत्कृष्ट प्रदर्शन गर्दै आएको सुदूरपश्चिम रोयल्स आफ्नो वर्चस्व कायम राख्दै पहिलो उपाधि उचाल्ने दाउमा छ । यता, गत सिजनको निराशाजनक प्रदर्शन भुलाउँदै लुम्बिनी लायन्स उपाधिमार्फत इतिहास रच्ने लक्ष्यमा छ ।
अप्रत्यासित लुम्बिनीको फाइनल यात्रा
गत सिजन अंक तालिकाको पुछारमा रहँदै प्रतियोगिता सकाएको लुम्बिनी यस सिजन भने संघर्षपूर्ण तर प्रेरणादायी यात्रासहित फाइनलमा पुगेको हो । लिग चरणमा सात खेलमध्ये चार जित र तीन हारसहित आठ अंक जोड्दै चौथो स्थानमा प्लेअफ पुगेको लुम्बिनीले इलिमिनेटरमा काठमाण्डू गोर्खाजलाई चार विकेटले पराजित गर्यो । त्यसपछि दोस्रो क्वालिफायरमा विराटनगर किंग्सविरुद्ध ४० रनको जित निकाल्दै फाइनल यात्रा तय गर्यो ।
लुम्बिनीले लिग चरणको सुरुवात चितवन राइनोजविरुद्ध जितसँगै गरेको भए पनि त्यसपछिका तीन खेलमा लगातार हार बेहोरेको थियो । प्लेअफ पुग्न बाँकी सबै खेल जित्नुपर्ने दबाबमा रहेको लुम्बिनीले पोखरा एभेन्जर्स, विराटनगर किंग्स र साविक विजेता जनकपुर बोल्ट्सलाई हराउँदै शानदार पुनरागमन गरेको थियो ।
फाइनलअघि लुम्बिनीका ब्याटर डार्सी शर्टले भने, “हामी दबाबमा खेल्दै यहाँसम्म आइपुगेका छौँ । अन्तिम खेलमा पनि यही लय कायम रहने विश्वास छ ।”
सुदूरपश्चिमको सानदार लय
सुदूरपश्चिम रोयल्स भने सिजनभर उत्कृष्ट लयमा देखिएको टिम हो । लिग चरणमा सातमध्ये छ खेल जित्दै १२ अंकसहित शीर्ष स्थानमा प्लेअफ प्रवेश गरेको सुदूरले पहिलो क्वालिफायरमा विराटनगर किंग्सलाई ७७ रनको फराकिलो अन्तरले हराउँदै लगातार दोस्रो पटक फाइनलमा स्थान सुरक्षित गर्यो ।
गत सिजन फाइनलमा जनकपुरसँग पराजित हुँदै उपाधिबाट वञ्चित भएको सुदूरपश्चिम यसपटक त्यो कमी पूरा गर्न चाहन्छ । टोलीका बलर स्कट कुग्गेलिनले फाइनलअघि भने, “दोस्रो स्थान राम्रो हुँदैन । हामी उपाधि जित्नै चाहन्छौँ ।”
दीपेन्द्रसिंह ऐरीको कप्तानीमा रहेको सुदूरपश्चिमले लिग चरणमा काठमाण्डू, पोखरा, कर्णाली, लुम्बिनी, जनकपुर र चितवनलाई पराजित गर्दै आफ्नो प्रभुत्व देखाएको थियो । ‘फ्यान–फेवरेट’ सुदूरपश्चिम क्रिकेट विश्लेषकहरूको नजरमा पनि उपाधिको मुख्य दाबेदार मानिएको छ ।
अब प्रश्न एउटै छ—लगातार उत्कृष्ट प्रदर्शन गर्दै आएको सुदूरपश्चिमले उपाधिमा आफ्नो प्रभुत्व प्रमाणित गर्नेछ, वा पुछारबाट उठेको लुम्बिनीले सिजनकै सबैभन्दा ठूलो चमत्कार पूरा गर्नेछ ? यसको उत्तर शनिबार साँझ कीर्तिपुरले दिनेछ ।-0-
समाचार स्रोत – अनलाईन मिडीया
फोटो स्रोत – एन पि एल फेसबुक पेज


