कांग्रेसमा अन्तरिम निकास र कृत्रिम हर्षोल्लास ,कामचलाउ सहमति

काठमाडौं । अन्ततः नेपाली कांग्रेसमा सहमति भयो । २ महिनासम्म आरोप-प्रत्यारोपमा उत्रिएका नेता कार्यकर्ता १५ औँ महाधिवेशनको कार्य तालिका आएपछि शान्त मात्रै देखिएनन्, हर्षोल्लासमै उत्रिए । तत्काललाई कांग्रेसको विभाजन टर्‍यो ।

जेन-जी विद्रोहपछि कांग्रेसमा आन्तरिक कलह राम्रैसँग चुलियो । विशेष महाधिवेशनका लागि हस्ताक्षर गर्ने समूह र चुनावपछि महाधिवेशन गर्न चाहने समूहबीच निकै घोचपेच भयो । नेताहरूले राजनीतिक मर्यादा नाघेरै पनि तर्क गरे । कार्यकर्तामा त मर्यादाको खोजी नै कांग्रेसमा नौलो भइसक्यो । खैर, कांग्रेसमा कामचलाउ सहमति भयो, कृत्रिम हर्षोल्लास छायो । कांग्रेसले पुस २६ गतेदेखि २८ गतेसम्म काठमाडौंमा १५ औँ महाधिवेशन गर्ने कार्य तालिका सार्वजनिक गरेको छ ।

सोमबार दिउँसोको कांग्रेस बैठक अघिसम्म कांग्रेसमा यति सजिलै सहमति जुट्ने आँकलन कसैको थिएन । ‘सहमति नजुटेसम्म बैठक सारिरहन्छु’ भन्ने कार्यवाहक सभापतिदेखि ‘विशेष महाधिवेशन नभई हुँदैन’ भन्ने महामन्त्रीद्वय हुँदै ‘चुनावअघि कुनै पनि महाधिवेशन हुँदैन’ भन्ने सात भाइसम्मले अन्ततः ‘निर्वाचनअघि नियमित महाधिवेशनको कार्यतालिकालाई’ स्वीकार गरेका छन् । कांग्रेसको विगत, परम्परा, अभ्यास र विशेषता हेर्दा धेरैलाई पुस २६ मा महाधिवेशन हुँदैन भन्ने लागेको छैन ।

हामन्त्री गगन थापाले त स्वयं कार्य तालिका अपत्यारिलो भएकाले प्रभावित हुनासाथ विशेष महाधिवेशनको एजेन्डा ब्यूँतने बताइसकेका छन् । कांग्रेसका सबै प्रभावशाली नेताहरू ‘प्रभावकारी’ नहुने निश्चित भएको कार्य तालिका ल्याउन सहमत भए । त्यसैले यो सहमति नै ‘कामचलाउ’ हो । कामचलाउ सहमतिले भए पनि कांग्रेसजनलाई उत्साह भरेको छ । आ-आफ्ना नेताको फोटो राख्दै उनीहरूले लेखेका छन्- दाइको अडानले निकास दियो ।

लोक कथाहरूमा एउटा झोला हुन्छ । त्यो मनचिन्ते झोला हो । झोलामा हात हालेपछि मनले चिताएको झिक्न सकिन्छ । कांग्रेसको कामचलाउ सहमति त्यस्तै मनचिन्ते छ । त्यो झोलामा सभापति शेरबहादुर देउवाको पुनरागमनको औचित्य भेटिन्छ, कार्यवाहक सभापति खड्काको नेतृत्व क्षमता भेटिन्छ, महामन्त्रीद्वयको अडान भेटिन्छ, सातभाइको समर्पण भेटिन्छ, २७ भाइको एजेन्डा भेटिन्छ, शेखर कोइरालाको दूरदर्शिता भेटिन्छ ।

सबै गुटका नेताको हित भेटिने कामचलाउ सहमतिले कांग्रेस कार्यकर्तामा कृत्रिम हर्षोल्लास छ । हर्षोल्लास यस कारण कृत्रिम छ की उनीहरू कसैलाई पनि महाधिवेशन भइहाल्छ जस्तो लागेको छैन । ‘महाधिवेशनको दिनसम्म क्रियाशील सदस्यताको मात्रै टुंगो लाग्यो भने पनि भइहाल्यो नि’, हर्षोल्लासमा फोटो टाँसिनेमध्येका एक नेताले पङ्क्तिकारसँग भने ।

कांग्रेसमा महाधिवेशन भनेको चुनाव होइन, सदस्यता हो । सदस्यता विवाद कांग्रेसको दीर्घ रोग हो । यस पटक सदस्यता विवादरहित रहनेछ भन्ने कुनै वस्तुनिष्ठ आधार भेटिएको छैन । बरु जेन-जी विद्रोहपछि एकले अर्कालाई ‘देखाइदिने’ कसम खाएकाहरूले कसम पूरा गर्ने नै सदस्यतामा हो । जति नै आशावादी हुन प्रयत्न गर्दा पनि कांग्रेसको महाधिवेशन कार्य तालिका पत्यारलाग्दो छैन । सबै कुरा ठीकठाक भयो भने पनि महाधिवेशनको उद्घाटनको ठिक १२ दिनअघि मात्रै कांग्रेसका केन्द्रीय सभापति वा कार्यवाहक सभापतिले सदस्यताको अन्तिम सूचीमा हस्ताक्षर गरेर निर्वाचन समितिलाई बुझाइरहेका हुन्छन् । तर त्यति सजिलो छैन ।

‘कार्य तालिका होइन महाधिवेशन खोजेका हौँ’ भन्नेहरूले पुस १४ पर्खँदासम्म प्रतिनिधिसभा निर्वाचनको समानुपातिक सूची निर्वाचन आयोगमा बुझाउने हतारो हुनेछ । किनकि निर्वाचन कार्यक्रम अनुसार पुस १३ र १४ मा समानुपातिकको बन्द सूची बुझाउनुपर्नेछ । अब कांग्रेसमा समानुपातिकको उम्मेदवार सूची बुझाउने ‘लफडा’ कति चर्को हुन्छ भन्ने कुरामा विगत सम्झाइरहनै पर्दैन । अझ कांग्रेसको प्रदेश अधिवेशन राष्ट्रियसभाका लागि उम्मेदवारी दर्ताकै दिन परेको छ ।

यी कुनै कारण र सन्दर्भले कांग्रेसको कार्यतालिकालाई प्रभावित गर्दैन भन्ने ठोस आधार यति बेलासम्मको कांग्रेसको गतिविधि, शैली र अभ्यासले स्थापित गरिसकेको छैन । कांग्रेस नेतृत्वलाई यस पटक शंकाको लाभ दिन सकिन्छ । भलै, कांग्रेसले केन्द्रीय समितिको बैठक नै ४९ दिनमा सकेको छ । आशा गरौँ महाधिवेशन कार्य तालिका प्रभावित हुनेछैन ।

कांग्रेसमा विशेष महाधिवेशन माग्ने ५४ प्रतिशत होउन् वा माग नगर्ने ४६ प्रतिशत, सबै महाधिवेशन प्रतिनिधिले आ-आफ्नो वडा सम्हाल्ने हो भने पुस २६ मा महाधिवेशन उद्घाटन असम्भव पनि होइन ।

असोज २८ मा सुरू भएर मंसिर १५ मा सकिएको कांग्रेस केन्द्रीय समितिले ‘कामचलाउ सहमति’को जगमा अन्तरिम निकास दिएकै छ । कार्यान्वयनका लागि अत्यन्तै अप्ठ्यारो मानिएकै भए पनि यसले कांग्रेसजनलाई खुसी दिएको छ । सबैले जितेको महसुस गरेका छन् । चुनाव नआउँदै, अधिवेशन नहुँदै जितिसकेका कांग्रेसहरूले अब हार्नलाई के नै बाँकी रह्यो र ?

SHARE:

प्रतिक्रिया दिनुहोस्

थप समाचारहरू

ताजा समाचार