प्रचण्ड-जनार्दन पक्षको दौडधूप

रुपन्देही । तत्कालीन माओवादीको ‘आधार इलाका’ लुम्बिनी प्रदेश । सशस्त्र सङ्‍घर्षको मुख्य क्षेत्र रुकुम–रोल्पासहित दाङ, गुल्मी, अर्घाखाँची, पाल्पा, बर्दिया, बाँके र कपिलवस्तुमा बलियो उपस्थिति देखाएको माओवादी ०६४ को निर्वाचनपछि विभाजित भयो । हाल रुकुम र रोल्पाबाहेक अरु जिल्लामा कमजोर बन्दै गएको छ ।

पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वले एक दर्जन दलबीच एकता गर्ने र पार्टीको पुरानो नाम तथा चुनाव चिह्न छाड्ने निर्णय गर्‍यो । माओवादीको भूमिगत कालदेखि मुख्य जिम्मेवारी लिएका जनार्दन शर्मा प्रभाकरले अलग्गै टीम बनाए । तत्कालीन माओवादीको ‘आधार इलाका’ लुम्बिनी प्रदेशमा माथिल्लो तहदेखि वडासम्मका नेतालाई आफूतिर तान्न प्रचण्ड र जनार्दन दुवै पक्षको दौडधूप बाक्लिएको छ ।

प्रचण्डले तत्कालीन माओवादी केन्द्रसहितका १२ दलसँग एकता गरेर नेपाली कम्युनिष्ट पार्टी बनाए । तत्कालीन माओवादी केन्द्रबाट अलग भएको घोषणा गरी शर्माले प्रगतिशील राष्ट्रिय अभियान घोषणा गरे । माओवादी र नेकपा (एकीकृत समाजवादी) सहितका वाम दलको एकता प्रक्रियामा असन्तोष जनाउँदै शर्माको समूह अलग्गै बस्यो ।

कार्तिक २७ गते अभियानको केन्द्रीय संयोजन समिति घोषणा भयो । समितिको नेतृत्व पूर्वमन्त्री सुदन किरातीले गरे । समितिमा किरातीसहित गेहेन्द्र ढकाल, मदन भट्टराई, नारायणी शर्मा, मदन लिम्बू, भीमबहादुर मल्ल, सम्झना राईलगायत छन् ।

अन्य सदस्यमा गोरखबहादुर केसी, पुजन सिंह, अरविन्द यादव, जटिल कार्की, लक्ष्मी गुरुङ, देवीराम देवकोटा, प्रकाशचन्द्र पाण्डे, जन्मदेव जैशी, राजु आलेमगर, टेकेन्द्र भट्ट, सन्तोष विष्ट, दिपक साउद, प्रेमबहादुर तामाङ, पुष्प न्यौपाने, यज्ञवल्लभ शर्मा, डा. अच्युत भट्ट छन् ।

त्यस्तै क्षितिज सापकोटा, विमला सिंह, बाबुराम नेपाली, निर्मला गौतम, किस्मतकुमार बिक, रामहरि पुडासैनी, सन्दिप पुन र धर्मराज खतिवडासहित ३१ जना छन् । यी मध्येबाट नारायणी शर्मा दाङ, सन्तोष विष्ट रोल्पा, किस्मत कुमार बिक रुपन्देहीका हुन् । माओवादीबाट विभाजन भएर प्रचण्ड, विप्लव, वैध, डा. बाबुराम, अहिले जनार्दनसहितका विप्लवबाट पनि नयाँ बनेका, वैद्यबाट पनि नयाँ बनेका माओवादी घटकहरु धेरै छन् ।

लुम्बिनी, माओवादी युद्धताकाकै समयमा बलियो क्षेत्र भएकाले नयाँ पार्टीमा पनि यहाँ आफ्नो बलियो पकड बनाउ प्रचण्ड र जनार्दन पक्ष निकै कस्सिएका छन् । तर शर्माले चाहेजस्तो माओवादीको बलियो ठाउँ मानिएको रुकुमपूर्व र रोल्पामामा नेताहरु लैजान सकेका छैनन् । तर अन्य जिल्लाबाट प्रभावशाली नेताहरु शर्माको साथमा देखिएका छन् ।

लुम्बिनी प्रदेशबाट शर्मालाई साथ दिएका बलिया नेताहरुमध्ये रुपन्देही जिल्लाबाट बामदेव क्षेत्री, अतिउल्लाह मुसलमान, गोविन्द केसी, किस्मत बिक, खिमबहादुर बिक, यज्ञ पोखरेल, लेखनाथ भण्डारी र कृष्ण बन्जाडे छन् । दाङबाट जगप्रसाद शर्मा, नारायणी शर्मा, हुमप्रसाद शर्मा, लुमाकान्त न्यौपाने सागर र डोरप्रसाद पन्थी छन् । त्यस्तै बर्दियाबाट तिलकराम शर्मा, बाँकेबाट कृष्ण केसी नमुना, नवलपरासीबाट सीता बौडेल र गोपी ज्ञवाली छन् । अर्घाखाँचीबाट कर्ण भट्टराई, रोल्पाबाट मिनबहादुर मगर विकल्प पनि प्रगतिशील अभियानमा जोडिएका छन् ।

माओवादीमा माथिल्लो तहका नेताहरुसँग नजिक भएर काम गरेका नेता बामदेव क्षेत्रीका अनुसार प्रदेशबाट साविक केन्द्रीय कमिटीमा रहेका ५० भन्दा धेरै नेताहरुको नाम समावेश छ । धेरै नेताहरु पार्टी संस्थापन पक्षले चासो नदिएकै कारण विभाजित भएका हुन् ।

‘धेरै नेताहरु आउने क्रममा हुनुहुन्छ, जब संस्थापन पक्षले गल्ती कुरा उठाउने र आलोचना गर्नेलाई निषेधको वातावरण बनायो त्यसपछि पार्टीमा असन्तुष्टि बढ्यो, लुम्बिनीबाट ५० भन्दा धेरै केन्द्रीय सदस्यहरु हाम्रो टीममा हुनुहुन्छ ।’ उनले भने । क्षेत्रीका अनुसार प्रदेश र स्थानीय तहको जिम्मेवारीमा रहेका केही नेताहरु अहिले नखुले पनि अभियानकै क्रममा छन् । हालसम्म सबैभन्दा धेरै नेताहरु रुपन्देहीबाट जनार्दनको पक्षमा खुलेका छन् ।

त्यसो त प्रचण्ड र शर्मा दुवैले ‘माओवाद’ छाडेकाले ठूलो असन्तुष्ट समूह ‘बाहिर बस्ने वा विप्लवसँगको पार्टीमा जाने’ अन्यौलमा छन् । प्रेस सेन्टरका नेता गुनाराम घिमिरेका अनुसार अहिले प्रचण्ड र शर्मा दुवैले ‘माओवाद’ छाडेकाले धेरै कार्यकर्ता भने अन्यौलमा छन् ।

‘अहिलेको अवस्थामा पार्टी फुटाउनु व्यक्तिगत स्वार्थ नमिलेकै कारण हो, कुनै वादमा नमिलेको होइन, अब पहिलेको पार्टीको ठूलो शक्ति प्रचण्डसँगै रहन्छ नै, केही शर्मातिर गए र धेरैलाई अन्यौल छ, धेरैले सोधिरहेका पनि छन् के गरौं भनेर’ उनले भने– ‘धेरै नेताहरु मात्रै भएको पार्टीमा पार्टी बलियो बन्न समस्या हुनेरहेछ ।’

सङ्‍कटका बेला मूल पार्टी छाडेर अर्को समूह बनाएर कालान्तरमा पछुताउनुपर्ने संविधानसभा सदस्य तथा माओवादीका तत्कालीन नेता विनोद पहाडी बताउँछन् । तर असन्तुष्टि रहेको विषयमा नेतृत्वले समयमा सम्बोधन गर्न नसकेका कारण पार्टीमा विभाजन आएको उनको भनाइ छ ।

SHARE:

प्रतिक्रिया दिनुहोस्

थप समाचारहरू

ताजा समाचार