काठमाडौं । सिमरामा बुधवार र बिहीबार भएको जेन–जी प्रदर्शनका क्रममा त्रुटिपूर्ण कार्य गरेको आरोपपछि बाराका जिल्ला प्रहरी प्रमुख एसपी सन्तोष तामाङ त्यहाँबाट फिर्ता भएका छन्। जेन–जी समूहले प्रदर्शनकै क्रममा गरेको आरोपपछि तामाङलाई फिर्ता बोलाइएको चर्चा भए पनि प्रहरी संगठनले भने सरुवालाई नियमित प्रक्रिया भनिएको छ।
केन्द्रीय प्रहरी प्रवक्ता डीआईजी अबिनारायण काफ्लेका अनुसार एसपी तामाङले ११ महिनाको कार्य अवधि पूरा गरेपछि संगठनको आन्तरिक परिपत्रका आधारमा प्रहरी मुख्यालयमा काज सरुवा भएका हुन्।
प्रहरीको नयाँ व्यवस्थापनअनुसार धादिङका प्रहरी प्रमुख भेषराज रिजाललाई मधेस प्रदेश प्रहरी कार्यालय जनकपुरमा काज खटाइएको छ। बारामा एसपी नरेन्द्र कुँवर र धादिङमा सुमित खड्का नयाँ रूपमा जिम्मेवारी पाएका छन्।
सिमरा घटनापछि जेन–जी अभियन्ता सुधन गुरुङले गृहमन्त्रीमाथि आलोचना गरेका थिए। जेन–जी आन्दोलनकै बलमा गठन भएको सरकारका मन्त्रीमाथि नै जेन–जी अगुवाले प्रश्न उठाएपछि स्थिति शान्त पार्न एसपी तामाङ फिर्ता गरिएको प्रहरी स्रोतले जनाएको छ।
यसैबीच, धादिङका एसपी रिजालको काज सरुवा भने कार्य मूल्याङ्कनकै आधारमा गरिएको प्रवक्ता काफ्लेले स्पष्ट पारेका छन्।


