पूर्वी चितवनस्थित कालिका नगरपालिकाले नगरभित्रका उत्कृष्ट सामुदायिक तथा संस्थागत विद्यालय, उत्कृष्ट अङ्क हासिल गर्ने विद्यार्थी तथा राष्ट्रिय–अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक जित्न सफल खेलाडीलाई बिहीबार एक विशेष समारोहका बीच सम्मान गरेको छ।
नगरपालिकाले शैक्षिक विकासलाई प्राथमिकतामा राख्दै दिवा–खाना कार्यक्रम बलियो बनाउने, भौतिक पूर्वाधार सुदृढ गर्ने र शिक्षण–सिकाइलाई आधुनिक तथा प्रभावकारी बनाउने उद्देश्यका साथ विद्यार्थी, शिक्षक तथा विद्यालयलाई एउटै मञ्चमा सम्मान गरेको हो।
समारोहमा मेयर विनोद रेग्मीले उत्कृष्टता प्राप्त गर्ने विद्यार्थी र विद्यालयलाई सम्मान गर्दा शैक्षिक गुणस्तरमा थप टेवा पुग्ने विश्वास व्यक्त गरे। “शिक्षण सिकाइ प्रभावकारी नहुँदासम्म नतिजा राम्रो आउँदैन,” मेयर रेग्मीले भने, “विद्यार्थी र शिक्षकलाई निरन्तर हौसला प्रदान गर्दै शिक्षण सिकाइलाई अझ मजबुत बनाउने योजना छ।”
नगर शिक्षा अधिकारी चन्द्रा शर्माका अनुसार सामुदायिक विद्यालयतर्फ ९ र संस्थागत विद्यालयतर्फ ६ गरी १५ जना उत्कृष्ट विद्यार्थी, पाँचवटा उत्कृष्ट विद्यालय तथा राष्ट्रिय–अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक जित्ने ३१ जना खेलाडीलाई सम्मान गरिएको हो। प्रत्येक विद्यार्थी तथा खेलाडीलाई जनही ५ हजार रुपैयाँसहित सम्मान पत्र प्रदान गरिएको बताइयो।
कक्षा ८, १० र १२ को परीक्षामा उच्च उत्तीर्ण दरका आधारमा भिमोदय नमुना मावि, सिराई सनराइज इङ्ग्लिस बोर्डिङ स्कुल, राष्ट्रिय मावि समिपुर, सिद्धिविनायक मावि र पृथ्वी माविलाई संस्थागत रुपमा सम्मान गरिएको छ। त्यस्तै, समावेशी शिक्षा सञ्चालनमा महत्वपूर्ण योगदान पुर्याउने ह्याण्डीक्याप इन्टरनेसनल, अटिजम केयर चितवन सोसाइटी, राष्ट्रिय बहिरा महासंघ र सेन्स इन्टरनेसनललाई पनि सम्मान गरिएको छ।
कार्यक्रमका प्रमुख अतिथि जिल्ला समन्वय समितिका प्रमुख नारायणप्रसाद अधिकारी, मेयर रेग्मी, उपमेयर विमला तामाङ, संस्थापक मेयर खुमनारायण श्रेष्ठ तथा प्रमुख प्रशासकीय अधिकृत देवराज चौलागाइँले सम्मानित विद्यार्थी, विद्यालय र खेलाडीहरूलाई दोसल्ला तथा सम्मान पत्र प्रदान गरेका थिए।
कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख अधिकारीले शिक्षालाई आधार बनाएर नगरलाई छिटो विकासको गतिमा लैजान सकिने बताए। संस्थापक मेयर श्रेष्ठले विकट क्षेत्रमा रहेका विद्यालयको शिक्षण–सिकाइ सुधार गरी सबै विद्यालयबीच प्रतिस्पर्धा गर्न सक्ने वातावरण बनाउन सुझाव दिए।
उपमेयर तामाङले संविधान दिवसमा आयोजना गर्ने तयारी रहेको विद्यार्थी सम्मान कार्यक्रम जेनजी आन्दोलनका कारण ढिलो गरी बाल दिवसको अवसरमा सम्पन्न भएको बताइन्। प्रमुख प्रशासकीय अधिकृत चौलागाईले शिक्षामार्फत सामाजिक तथा आर्थिक विकास अघि बढाउने लक्ष्यसहित नगरपालिकाले निरन्तर लगानी गर्दै आएको उल्लेख गरे।
कार्यक्रममा नगर प्रवक्ता लक्ष्मण पौडेल, सामाजिक विकास समितिका संयोजक मकरमान श्रेष्ठसहित विभिन्न विद्यालयका प्रतिनिधि, अभिभावक तथा विद्यार्थीहरूले शिक्षाको गुणस्तर सुधारका विषयमा आफ्नो धारणा व्यक्त गरेका थिए।
कालिका नगरपालिकामा हाल ३३ सामुदायिक र ११ संस्थागत विद्यालयमार्फत १२ हजार ८ सय विद्यार्थी अध्ययनरत छन्। समावेशी शिक्षा कार्यक्रम पनि प्रभावकारी रुपमा अघि बढिरहेको नगरपालिकाले जनाएको छ।
कार्यक्रमको सञ्चालन नगर शिक्षा अधिकारी चन्द्रा शर्माले गरेकी थिइन्।


