काठमाडौँ मंसिर २ । जिल्ला प्रहरी परिसर काठमाडौँ र काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको संयुक्त टोलीले भक्तपुरस्थित निवासबाटै दुर्गा प्रसाईँलाई मध्यराति पक्राउ गरेको छ। उनले हिंसा भड्काउने प्रकारका अराजक अभिव्यक्ति दिएको आरोपमा प्रहरीले नियन्त्रणमा लिएको हो।
यसअघि २०८१ चैत १५ मा भएका हिंसात्मक आन्दोलनपछि पक्राउ परेका प्रसाईँ अदालतको आदेशमा छुटेका थिए। राजावादी अभियानमा सक्रिय प्रसाईँले बैंकका ऋण मिनाहा गर्नुपर्ने लगायतका मागसहित मंसिर ७ गतेबाट नयाँ आन्दोलन थाल्ने तयारी गर्दै आएका थिए। उनले “राष्ट्र, राष्ट्रियता, धर्म–संस्कृति र नागरिक बचाउ महाअभियान” को नाममा राजनीतिक गतिविधि तीव्र पारेका थिए।
उनका पछिल्ला अभिव्यक्ति—विशेषगरी काठमाडौँ मेयर बालेन साहको घरमा आगो झोस्ने, परिवारमाथि आक्रमण गर्नेजस्ता निर्देशनात्मक भनाइ—पछि प्रहरीले उपत्यकामा उच्च सतर्कता अपनाउँदै सर्कुलर जारी गरेको हो।


