२८ कात्तिक, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता सन्तोष परियारले पार्टी त्यागेका छन् । पार्टीभित्रको नेतृत्व परिवर्तन सम्बन्धी बहस चुलिएको बीच उनले रास्वपाको सदस्यबाट राजीनामा दिँदै छुट्टै अभियान सुरु गर्न लागेको बताएका छन् ।
विघटित प्रतिनिधिसभामा रास्वपाका प्रमुख सचेतक रहेका परियारले कार्यवाहक सभापति डीपी अर्याल र महामन्त्री कविन्द्र बुर्लाकोटीलाई राजीनामा पत्र बुझाएका छन् । पछिल्ला दिनमा उनी पार्टीभित्र चलिरहेको असन्तुष्टि र नेतृत्व समीकरणका कारण चर्चामा थिए । चितवनमा सम्पन्न विस्तारित बैठकमा उनले विशेष महाधिवेशनको माग राख्दै पार्टी संरचना तथा नेतृत्वमा आवश्यक पुनरावलोकन गर्नुपर्ने बताएपछि आन्तरिक मतभेद झनै खुल्दै गएको थियो ।
पार्टी परित्यागसँगै अब आफू छुट्टै अभियानमार्फत राजनीति गर्ने तयारीमा रहेको परियारले बताएका छन् । उनका अनुसार नयाँ राजनीतिक यात्रामा जनतासँग प्रत्यक्ष संवाद र वैकल्पिक राजनीतिक अभ्यासलाई प्राथमिकता दिइनेछ ।
स्रोत – अनलाईन खबर


