२७ कार्तिक काठमाडौं । ‘हामी नेपाल’ नामक संस्थाका संयोजक सुधन गुरुङले जेनजी समूहका माग पूरा नभएसम्म निर्वाचन हुन नसक्ने बताएका छन् । बिहीबार बिहान काठमाडौंको लैनचौरस्थित नेपाल स्काउटको जग्गामा खड्का ल्यान्ड प्रालिले निर्माण गरेका संरचना हटाउने क्रममा पुगेका गुरुङले यस्तो चेतावनी दिएका हुन् ।
गुरुङले जेनजीका माग पूरा गरिनु अत्यावश्यक रहेको उल्लेख गर्दै त्यसविना निर्वाचनको कुरा गर्न नसकिने बताए । “समग्र हामी जेनजीहरूको टिम एक ठाउँमा छ, माग पूरा नभईकन कसरी चुनाव हुन्छ ?” उनले भने, “यो सबै कुरा गृहमन्त्रीज्यूले जिम्मा लिनुपर्छ ।”
उनका अनुसार, गृहमन्त्री ओमप्रकाश अर्याल जेनजीसँग भएका वार्तामा समेत सहभागी थिए र माग पूरा हुने विश्वास दिलाएका थिए, तर सो अनुसार काम नभएको आरोप उनले लगाए । “उहाँले हामीलाई विश्वास दिलाउनुभएको थियो, तर अहिले आएर चुनावको मात्र कुरा गर्न थाल्नुभयो, यो धोका हो,” गुरुङले भने ।
गुरुङले गृहमन्त्रीले जेनजीका माग बेवास्ता गरे आगामी दिनमा अर्को आन्दोलन हुने चेतावनी पनि दिए ।
स्रोत : न्युज एजेन्सी नेपाल


