चितवन, कात्तिक २३ –राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को दुईदिने विस्तारित बैठक चितवनमा सम्पन्न भएको छ। देशभरबाट आएका करिब ४ सय प्रतिनिधि सहभागी बैठकमा आगामी प्रतिनिधिसभा निर्वाचन, वर्तमान राजनीतिक परिस्थिति र पार्टीभित्रको आवश्यक रुपान्तरणबारे व्यापक छलफल भएको प्रवक्ता मनिष झाले जानकारी दिए।
कार्यवाहक सभापति डीपी अर्याल, उपसभापति डा. स्वर्णिम वाग्ले, महामन्त्री कविन्द्र बुर्लाकोटी, सह–महामन्त्री विपिनकुमार आचार्य र सचिवालय सदस्य दीपक बोहराले प्रतिवेदन पेस गरेका थिए। ती प्रतिवेदनमाथि समूहगत छलफल गरी सुझावहरू केन्द्रीय समितिमा पठाइने भएको छ।
बैठकले फागुन २१ गते हुने निर्वाचनलाई स्वच्छ र निष्पक्ष बनाउन सरकारलाई आग्रह गर्दै विदेशमा रहेका नेपालीका लागि मतदानको व्यवस्था मिलाउन पनि ध्यानाकर्षण गराएको छ। रास्वपाले उम्मेदवार छनोटदेखि प्रचारसम्मका सबै प्रक्रियामा पारदर्शिता अपनाउने र युवाको सहभागिता अझ बढाउने निर्णय गरेको छ।
यसै क्रममा समानुपातिक उम्मेदवार सूचीमा २५–४० वर्षका युवालाई २७ प्रतिशत र प्रवासी नेपालीलाई १० प्रतिशत स्थान दिने नीति पनि बैठकले पारित गरेको छ।
यस्तै, बैठकले सभापति रवि लामिछानेमाथि दायर गरिएको मुद्दा राजनीतिक प्रतिशोधका कारण लगाइएको भन्दै निष्पक्ष छानबिनको माग पनि गरेको छ।


