चितवन । कारागार कार्यालय भरतपुरबाट भागेका वन्यजन्तु अपराधमा संलग्न १६ जना कैदीबन्दी हालसम्म नफर्किएका छन् । तीमध्ये १२ जना दुर्लभ एकसिङ्गे गैँडा चोरीशिकारका मुख्य अभियुक्त हुन् ।
वन्यजन्तु अपराधमा संलग्न कैदीबन्दी कारागार नफर्किंदा गैँडा र अन्य वन्यजन्तु संरक्षणमा थप चुनौती सिर्जना भएको निकुञ्ज प्रशासनले जनाएको छ ।
चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत डा गणेश पन्तका अनुसार केही कुख्यात तस्करहरू समेत फरार छन् । उहाँका अनुसार ‘ठूलो कान्छा’ र ‘सागर प्रजा’को नामले परिचित विन्दरसिंह प्रजा, रमेश खाती र आइतसिंह मोक्तान बढी जोखिममा पर्ने तस्कर मानिन्छन् । प्रजा कालिका–११, खाती मकवानपुरको हेटौँडा–३ र मोक्तान चितवनको राप्ती–११ का हुन् ।
प्रजालाई २०७८ सालमा तथा मोक्तान र खातीलाई २०८० सालमा नियन्त्रणमा लिइएको र उनीहरूलाई अधिकतम १५ वर्ष कैद सजाय तोकिएको डा पन्तले बताए ।
फरार कैदीबन्दीको सञ्जाल ठूलो भएकाले पक्राउमा चुनौती बढेको पनि निकुञ्ज प्रशासनको भनाइ छ । फरारको खोजीका लागि सूचना सङ्कलन र सहजीकरणमा निकुञ्ज प्रशासन र सुरक्षा निकाय सक्रिय रहेको जनाएको छ ।
यसैबीच राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागमा आन्तरिक वन्यजन्तु अपराध नियन्त्रण सचिवालय र केन्द्रीय वन्यजन्तु अपराध नियन्त्रण ब्यूरोको बैठक बिहीबार बस्ने तयारी भएको छ । विभागका महानिर्देशक संयोजक रहने उक्त ब्यूरोमा गृहसहित विभिन्न निकायका सहसचिव स्तरका अधिकारी सदस्य रहने व्यवस्था छ ।
विभागका प्रवक्ता वेदकुमार ढकालका अनुसार सबै निकुञ्जलाई वन्यजन्तु अपराधमा संलग्न कैदीबन्दीबारे तथ्याङ्क सङ्कलन गरी पठाउन पत्राचार गरिएको छ ।
कारागार कार्यालय भरतपुरका प्रमुख रवीन्द्रप्रसाद ढुंगानाका अनुसार यहाँबाट भागिएका ७४३ मध्ये अझै १३५ कैदीबन्दी नफर्किएका छन् । तीमध्ये ११ जना भारतीय नागरिक रहेको र वन्यजन्तु तस्करीमा संलग्न ५३ जना कैदीबन्दी रहेका जनाइएको छ । तीमध्ये ४६ जना दुर्लभ गैँडासम्बन्धी तथा सात जना अन्य वन्यजन्तुसम्बन्धी अपराधमा संलग्न छन् । रासस


