मुस्ताङ । मुस्ताङमा आजदेखि ‘घरपझोङ जलवायु सम्मेलन २०८३’ सुरु हुँदैछ। सम्मेलनको उद्घाटन कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले गर्ने कार्यक्रम रहेको छ।
सम्मेलनमा सहभागी हुन सातै प्रदेशका महानगरपालिका, उपमहानगरपालिका, नगरपालिका तथा गाउँपालिकासहित ४२१ स्थानीय तह र ३६ जिल्ला समन्वय समितिका जनप्रतिनिधि सोमबार साँझसम्म मुस्ताङ आइपुगेका छन्। घरपझोङ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत भीमकुमार बस्नेतका अनुसार सोमबार साँझसम्म दुई हजारभन्दा बढी अतिथि मुस्ताङ आइपुगेका छन्।
आगन्तुक अतिथिका लागि स्थानीय होटलमा बसोबासको व्यवस्था मिलाइएको छ। सम्मेलन व्यवस्थापनका लागि गाउँपालिकाअन्तर्गतका पाँचवटै वडाका गाउँ समाज, आमा समूह, युवा क्लब तथा अन्य संघसंस्थालाई परिचालन गरिएको गाउँपालिका उपाध्यक्ष जमुना थकालीले जानकारी दिइन्।
उनका अनुसार सम्मेलनमा सहभागी अतिथिका लागि बिहानको खाजा, खाना तथा दिउँसोको खाजा सम्मेलनस्थलमै आमा समूहका टोलीले व्यवस्थापन गर्नेछन्। बेलुकीको खाना र बसोबास भने गाउँपालिकाले तोकेका होटलमा व्यवस्था गरिएको छ।
सम्मेलनलाई भव्य बनाउन गाउँपालिकाका पाँचवटै वडाका सडक तथा बस्तीमा स्थानीय मौलिक कला र संस्कृति झल्किने ध्वजापताका तथा सजावट गरिएको छ। मुख्य राजमार्ग र भित्री सडकमा सडकबत्ती जडान गरी क्षेत्रलाई झिलिमिली पारिएको गाउँपालिकाले जनाएको छ।
आगन्तुक अतिथिको स्वास्थ्य परीक्षणका लागि स्वास्थ्यकर्मी तथा स्वयंसेवक परिचालन गरिएको छ भने खानेपानी, इन्टरनेट र विद्युत् सेवामा समस्या नआओस् भनेर आवश्यक पूर्वतयारी गरिएको छ। सवारी पार्किङ तथा ट्राफिक व्यवस्थापनलाई समेत व्यवस्थित बनाइएको छ।
जोमसोमस्थित कभर्डहलमा हुने सम्मेलनका लागि स्टेज, साउन्ड सिस्टम, ब्यानरलगायत आवश्यक सजावट पूरा गरिएको गाउँपालिकाका सूचना अधिकारी विकास सज्यालले जानकारी दिए।
सम्मेलनस्थलमा जलवायु परिवर्तनको असरबारे जनचेतना जगाउने उद्देश्यले २८ फिट अग्लो ‘रोइरहेको पृथ्वी’को गोलाकार बेलुन आकृति राखिएको छ। यसले जलवायु परिवर्तनका कारण पृथ्वीले भोगिरहेको संकटलाई प्रतीकात्मक रूपमा प्रस्तुत गर्ने जनाइएको छ।
त्यसैगरी मुस्ताङका कृषि उत्पादनको प्रचारप्रसार तथा प्रवर्द्धन गर्ने उद्देश्यले सम्मेलनस्थलमा ५० भन्दा बढी स्टल राखिएको गाउँपालिकाका कृषि शाखा अधिकृत रोशन थकालीले जानकारी दिए।
दुई दिनसम्म सञ्चालन हुने सम्मेलनमा जलवायु परिवर्तनका असर, स्थानीय तहको भूमिका तथा वातावरण संरक्षणलगायत विषयमा छलफल हुने जनाइएको छ। सम्मेलनको अन्त्यमा जलवायु परिवर्तनको असरसम्बन्धी घोषणापत्रसमेत जारी गरिनेछ।


