परिवार भन्छ– राजनीतिक हस्तक्षेप नहोस्

इनिशाको शव एक सातादेखि प्रदेश अस्पतालमा

सुर्खेत । वीरेन्द्रनगरस्थित जनजागरण सामुदायिक वन सहिद पार्कमा मृत भेटिएकी १६ वर्षीया इनिशा विकको शव एक सातादेखि प्रदेश अस्पताल सुर्खेतमा छ , बलात्कारपछि उनको मृत्यु भएको पोस्टमार्टम रिपोर्टबाट पुष्टि भइसकेको छ ।

प्रहरीले घटना अनुसन्धानमा सकारात्मक भूमिका खेलेको छ । तर, यसमा राजनीतिक हस्तक्षेप हुन्छ कि भन्ने परिवारले आशंका गरेको छ ।

इनिशाको मृत्यु भएकै दिन शनिबार नै कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेल उनको घर पुगेर शव छिटो बुझ्न दबाब दिएको परिवारले आरोप लगाउँदै आएको छ । मुख्यन्त्री कँडेलले भने बाहिर आएजस्तो आफूले इनिशाको परिवारलाई शव बुझ्न दबाब नदिएको शनिबार नै स्पष्ट पारिसकेका छन् । उनले घटना अनुसन्धानमा प्रदेश सरकारले सक्दो सहयोग गर्ने सामाजिक सञ्जालमार्फत बताएका थिए ।

यता, प्रहरीले अनुसन्धान गरिरहेकै बेला इनिशा र आरोपित युवक कुन बाटोबाट उक्त स्थानमा गएका थिए भन्ने सीसीटीभी फुटेज सार्वजनिक हुनुले पनि परिवारलाई थप चिन्तामा पारेको छ ।

परिवारले इनिशाको सामूहिक बलात्कारपछि मृत्यु भएको भन्दै प्रहरीमा जाहेरी दिएको छ । प्रहरीले अनुसन्धान गरिरहेको घटनाको सीसीटीभी फुटेज सार्वजनिक हुनुले पनि परिवारलाई थप सशंकित बनाएको छ ।

जिल्ला प्रहरी कार्यालय सुर्खेतका सूचना अधिकारी एवं डीएसपी मोहनजंग बुढथापाले भने उक्त सीसीटीभी फुटेज बाहिर ल्याउने व्यक्तिको खोजी भइरहेको जानकारी दिए । “हामी इनिशा मृत्यु प्रकरणको घटनालाई सूक्ष्म तरिकाले अनुसन्धान गरिरहेका छौँ,” उनले भने, “अनुसन्धान गरिरहेको विषयमा प्रभावित पार्ने तरिकाले सीसीटीभी फुटेज बाहिर आएको छ । त्यसको पनि थप अनुसन्धान गर्छौं ।

सुर्खेत प्रहरी प्रमुख एवं एसपी सुधीरराज शाहीले अनुसन्धान सूक्ष्म तरिकाले अगाडि बढाइएको बताए । अनुसन्धानका विभिन्न रिपोर्ट आउन बाँकी रहेको उनले उल्लेख गरे । “रगत परीक्षणको रिपोर्ट, टेलिफोन संवादलगायत रिपोर्टहरू आउन बाँकी रहेको र अन्य तवरबाट पनि अनुसन्धालाई अगाडि बढाइएको छ,” उनले भने ।

हाल केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को सहयोगमा सुर्खेत प्रहरीले थप अनुसन्धान अगाडि बढाएको उनले बताए ।

पोस्टमार्टम रिपोर्ट
इनिशाको बलात्कारपछि अत्यधिक रक्तस्रावका कारण मृत्यु भएको पोस्टमार्टम रिपोर्टमा देखिएको एसपी शाहीले जानकारी दिए ।

उनका अनुसार, बलात्कारपछि मृत्यु भएको रिपोर्टमा देखिएको छ । तर, सामूहिक बलात्कार हो/होइन भन्ने विषयमा थप परीक्षण गर्नुपर्ने भएकाले उक्त प्रक्रिया अगाडि बढाइएको उनले बताए ।

जबसम्म न्याय मिल्दैन, तबसम्म शव बुझ्दैनौँ : परिवार
दोषीलाई कानुनी कारबाही गरेपछि मात्र शव बुझ्ने इनिशाका बुवा इन्द्रबहादुर विकले बताएका छन् । “मेरो छोरी २३ गते शनिबार नै गुमिसकेकी छिन्, म अहिले छोरीको न्यायको लागि लडिरहेको छु,” उनले भने, “छोरीले न्याय नपाएसम्म मैले शव बुझेर के गर्ने हो ? त्यसैले छोरीले न्याय पाएको दिन म छोरीको शव बुझ्छु ।”

उनले घटनामा राजनीतिक हस्तक्षेप नहोस् भन्ने परिवारले चाहेको बताए । यसनिम्ति सहयोग गर्न उनले सबैलाई आग्रह गरे । पछिल्लो समय सामाजिक सञ्जालमा भइरहेको केही हल्लाले परिवारलाई थप चिन्तित बनाएको उनले बताए ।

फागुन २३ गते बिहान ‘प्रयोगात्मक परीक्षा छ’ भन्दै घरबाट निस्किएकी इनिशा करिब ९ बजेतिर वीरेन्द्रनगर नगरपालिका–४ स्थित सहिद पार्कनजिकैको जंगलमा बेहोस अवस्थामा भेटिएकी थिइन् । उनीसँगै रहेका वीरेन्द्रनगर–९ का एक युवकलाई प्रहरीले घटनास्थलबाटै नियन्त्रणमा लिएको थियो ।

घटनामा संलग्न आशंकामा थप चारजनालाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

दोषीलाई हदैसम्मको कारबाही गर्नुपर्ने र पीडित परिवारलाई न्याय दिनुपर्ने आफन्तले माग राख्दै आएका छन् ।

८ बजे फर्किन्छु भनेर घरबाट निस्किएकी थिइन् इनिशा 
त्यस दिन विज्ञान विषयको ‘प्रयोगात्मक परीक्षा छ’ भन्दै इनिशा घरबाट निस्किएकी थिइन् । उनी  वीरेन्द्रनगर–६ स्थित उषा बालवाटिका विद्यालयमा कक्षा–११ मा अध्ययनरत थिइन् ।

इनिशा बिहान ८ बजेसम्म फर्कने भन्दै आमा तिलालाई जानकारी गराएर घरबाट निस्किएकी थिइन् । तर, समयमा घर नफर्किएपछि आफूहरूले खोजी सुरु गरेको इनिशाकी आमाले बताइन् ।

आमा तिलाका अनुसार, छोरीलाई फोन गर्दा मोबाइल ‘स्वीच अफ’ थियो । उनी पढ्ने विद्यालयमा पनि फोन गर्दा सम्पर्क हुन सकेको थिएन । केही समयपछि अपरिचित नम्बरबाट फोन गर्दै कसैले ‘तपाईंकी छोरी सहिद पार्कको जंगलमा बेहोस अवस्थामा छिन्’ भन्दै जानकारी गराएको थियो ।

“घटनास्थल पुग्दा इनिशालाई प्रहरीले घेरेर राखिसकेका थिए,” आमा तिलाले भनिन्, “उनको शरीर रक्ताम्मे अवस्थामा रहेको, कपाल लुछिएको, घाँस मडारिएको र एकातिर जुत्ता तथा अर्कोतिर मोजा परेको अवस्थामा भेटिएको थियो ।”

इनिशाको परिवारले उनको मृत्यु सामूहिक बलात्कारपछि भएको भन्दै घटनामा संलग्न सबैमाथि निष्पक्ष छानबिन गर्न आग्रह गरेको छ ।-0-

SHARE:

प्रतिक्रिया दिनुहोस्

थप समाचारहरू

ताजा समाचार