प्रधानमन्त्री चुनावको झल्को दिँदैछन् ओली–बालेनले

झापा । हुन त झापा-५ ले फागुनको चुनावमार्फत् एक सांसद चुन्ने हो, तर यहाँको प्रतिस्पर्धाले केवल क्षेत्रगत होइन, बरु राष्ट्रिय स्वरुप ग्रहण गरिसकेको छ । अनि अन्तर्राष्ट्रिय जगतको आँखासमेत यो क्षेत्रमा छ ।

त्यसैकारण भूकम्पमा प्रयोग हुने प्राविधिक शब्द इपिसेन्टर यति बेला झापा ५ को प्रतिनिधिसभा चुनावतर्फ लक्षित छ । फेसबुक ट्वीटर युट्युब इन्स्टाग्राम डिस्कर्डतिर खानपान, संगीत र जीवनशैलीका तस्बिर र रिललाई यहाँका उम्मेदवार र राजनीतिक सरोकारले प्रतिस्थापित गरेका छन् ।

यस अर्थमा भन्ने हो भने झापा-५ मा यति बेला उम्मेदवार मात्रै होइन, मतदातासमेत चर्चित बनिरहेका छन् । तिनका बोली कि त आफ्नै फेसबुकमार्फत्, या कुन-कुनै कन्टेन्ट क्रियटरमार्फत् छ्यापछ्याप्ती छन् । उसो त झापाका अरु क्षेत्रमा पनि चिनिएका राष्ट्रिय नेताहरुबीच प्रतिष्पर्धा छ, तर अल्गोरिदम भने झापा-५ मा मात्रै घुमिरहेको छ ।

यसअघिका चुनावमा सहर र गाउँका मतदाताबीच भिन्नता हुन्थ्यो, यसपल्ट स्मार्टफोन र सोसल मिडियाका कारण करिब-करिब त्यो भिन्नता मेटिँदो क्रममा छ ।

डायस्पोराका नेपालीसमेतले चाख मानेर झापाको चुनाव तयारी हेरिरहेका छन् । घरमा कुन दलको झन्डा राखियो, अनि घरमुली कुन पार्टीमा आस्था राख्छ भन्ने प्रश्न यहाँ गौण छ । एमालेका एक स्थानीय नेताले भने, ‘यसअघिका चुनावमा आफ्नो भोट दिइवरी छिमेकी समेत सम्झाउन जान्थे मान्छेहरु । अहिले आफ्नै घरकालाई सम्झाउन सकिने स्थिति छैन ।

अनलाइनखबरको टिमले तीन दिनसम्म यहाँका सबैखाले मतदाता भेट्ने प्रयास गर्‍यो । हामीले शहरका, गाउँका विभिन्न उमेर समूह, अनि सामुदायिक ब्लक, लिंग क्षेत्रका नागरिकसँग प्रत्यक्ष परोक्ष अन्तर्क्रिया गर्यौं । दमकदेखि गौरीगन्जसम्म, धरमपुरदेखि ग्वालडुब्बासम्मका बासिन्दाहरू यति बेला स्थानीय सरोकारमात्रै सुनाइरहेका छैनन् । बरु यिनीहरु उम्मेदवारहरुसँग जेनजी आन्दोलनदेखि राजनीति, भूराजनीतिसम्मका विषयमा यस्तरी प्रश्न उठाइरहेका छन्, मानौं सिंगै देश एउटा निर्वाचन क्षेत्र हो ।

आगामी सरकारका प्रधानमन्त्री भनी प्रचारित गरिएका केपी शर्मा ओली र बालेन्द्र शाह यसै क्षेत्रबाट उम्मेदवार बन्नु यसको मुख्य कारण हो ।

त्यसो त कांग्रेस उम्मेदवार मन्धरा चिमरिया पौडेल,  नेकपा उम्मेदवार रन्जित तामाङ, श्रम संस्कृति पार्टीका समीर तामाङ, राप्रपाका लक्ष्मी संग्रौला पनि यहीँका उम्मेदवार हुन्, जसका कुरासमेत यति बेला मतदाताबीच पुगिरहेका छन् । तर सडकदेखि सन्जालसम्मको बहसमा भने ओली र बालेन अकाट्य रुपमा स्थापित छन् ।

 झापा ५ मा पार्टी होइन व्यक्तिको बर्चस्व हाबी छ । यहाँको नागरिक डिस्कोर्समा एमाले होइन ओली हाबी छन्, रास्वपा होइन बालेन हाबी छन्

झापा-५ मा २९ वडा छन्, जहाँका १८ वडा यसअघि एमालेले जितेको हो । तर जेनजी आन्दोलनको धक्का बेहोरिसकेपछिको नयाँ परिस्थितिमा जुन चुनाव हुन गइरहेको छ, यहाँ झन्डै चार वर्षअघिको चुनावी तथ्यांकको खासै ठूलो अर्थ देखिएको छैन ।

अघिल्लो चुनावमा ओलीले राप्रपासमेतको समर्थनमा ठूलो मतान्तरसहित जितेका थिए, जुन मताधार यसबीचमा खण्डित हुने क्रममा छ । राप्रपा स्वयंले आफ्नो उम्मेदवार दिएको छ ।

हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टी पनि आफ्ना लागि चुनौती बन्ने एमाले आकलन छ । यति हुँदाहुँदै पनि एमालेले स्थानीय चुनावसमेतको भोटब्लकलाई आधार मानेर संसदीय चुनावमा पनि शक्तिशाली प्रदर्शन गर्ने दाबी गरेको छ ।

एमाले केन्द्रीय कमिटीका २ पदाधिकारी, अनि १४ केन्द्रीय सदस्य त यही क्षेत्र ५ मा मात्रै छन् । त्यो सबै शक्ति चुनावमा प्रयोग हुने एमाले बुझाइ छ ।

यही दाबीको बीचमा एउटा अनन्त बहस चलिरहेको छ : २३ र २४ भदौका दुईवटा मितिबारे । २३ भदौको जेनजी आन्दोलनमा ओली नेतृत्वको सरकारबाट मारिएका नागरिकहरु, अनि तत्कालीन काठमाडौं मेयर बालेनको फेसबुके अपिलसमेतको उक्साहटमा २४ भदौमा भएको सिंहदरबार आगजनीसहित विशाल धनजन क्षतिमध्ये कसको जिम्मेवारी कति भन्ने विवाद चुनावसम्मै तन्किने देखिन्छ ।

दमक-९ स्थित एमाले अध्यक्ष केपी शर्मा ओलीको निवास नजिकै हामीले केही स्थानीयसँग कुराकानी गरेका थियौं । आफ्नो नाम सार्वजनिक गर्न सहज नमानेका तिनले सोमबार साँझ अनलाइनखबरसँग भनेका कुराहरुको सार यस्तो थियो : अहिले बालेनप्रति मतदाताको त्यस्तै उत्सुकता छ, जस्तो उत्सुकता यसभन्दा पहिले ओलीप्रति थियो । ओलीले देशका लागि, अनि यो क्षेत्रका लागि कतिपय राम्रा काम पनि गरेका छन्, तर उनको अहंकार र कार्यकर्ताहरुको धाकधक्कुका कारण मतदाता रिसाएका छन् ।

एउटै व्यक्तिलाई धेरैपल्ट दोहोर्‍याउँदा मतदातामा उही व्यक्तिको पुनरावृत्ति अर्थात् एन्टि इन्कम्बेन्सी प्रभाव पर्छ, तर ओली भने केवल विगतमा गरेका र गर्न नसकेका काम होइन, अब भविष्यमा गर्नुपर्ने कामको सूची नै थमाइरहेका छन् । सोमबार गौरीगन्ज पुगेर उनी हुलाकी राजमार्गसँगै अन्य स्थानीय सडकको स्तरोन्नति गर्ने बुँदा नै सुनाइरहेका थिए ।

झापामा यति बेला धेरै अनुभव हुनुको विशेषतालाई राजनीतिमा अनुभव नै नहुनुको फाइदाले प्रतिस्थापन गर्न खोजेको छ । ओलीप्रति असन्तुष्ट मतदातालाई चित्त बुझाउने एउटै बाटो छ, उनी यसभन्दा पहिले जति रुखो शैलीमा मतदातालाई जवाफ फर्काउँथे, यसपल्ट पूरापूर नरम देखिने कोसिसमा छन् ।

अरु क्षेत्रतिर समय नबिताएर उनी ढुक्कै झापा-५ मा घरघर पुगिरहेका छन् । मतदाताहरु पनि ओलीको बदलिएको शैली देखेर छक्क परिरहेको अवस्थामा हामीले भेट्यौं ।

सोमबार दिउँसो ओली गौरीगन्ज क्षेत्रमा घरदैलो गर्न दुई दर्जनजति गाडीहरुसहित गइरहँदा प्रतिष्पर्धी बालेन्द्र शाह भने दमकस्थित रास्वपा सम्पर्क कार्यालयमा पालैपालो आगन्तुक भेटिरहेका थिए ।

रास्वपाको सम्पर्क कार्यालयमा पुरानो रास्वपा संस्थापन भने लगभग अनुपस्थित देखिन्छ । बालेनको टिम नै हाबी देखिन्छ यो कार्यालयमा, जहाँ सभापति रवि लामिछानेको तस्बिर देखिँदैन । स्मरण रहोस्, रास्वपाका सबै कार्यालयमा रविको तस्बिर राख्ने चलन छ । अनि सबै कार्यक्रममा रविको तस्बिर तथा स्ट्यान्डी राख्ने यसअघिको प्रचलन यो रास्वपा सम्पर्क कार्यालयमा देख्न पाइँदैन ।

बालेनको टिमका एक सदस्यले अनलाइनखबरसँग भने, ‘संगठनका साथीहरु हुहुनुहुन्छ, तर सोसल मिडियाकै बलमा सबै भइरहेको जस्तो लाग्छ । हामीले प्रचार गरेको पनि होइन, मान्छेहरु स्वतस्फुर्त आउँछन् त हामीले कसरी रोक्ने ?

तीन घण्टासम्म बालेन कुरेर भेट्न नपाएका एक आगन्तुक भन्दै थिए, अरु उम्मेदवार घरदैलो गर्दैछन् । यहाँ चाहिँ घरदैलो नै यहीँ आएर लाइनमा बसेछ ।

बालेनको टिमको बुझाइमा खासमा यसरी पालो कुरेर बालेन भेट्नुभन्दा खुला प्रचारमा शुभेच्छुक जाँदा बढ्ता फाइदा हुन्छ । नत्र बालेन भेट्न पाउने र नपाउनेबीच नै दूरी बन्ने, प्रकारान्तरले चुनाव प्रचारलाई त्यसले बेफाइदासमेत गर्न सक्ने टिमको बुझाइ छ ।

तर रास्वपाका पुराना कार्यकर्ता भने बालेन पक्षको यो प्रचार शैलीसँग क्षुब्ध देखिएका छन् ।

एमाले अध्यक्ष केपी ओली त्यसरी नै प्रचारमा गइरहेका छन् । स्कुले केटाकेटी, बुढाबुढी सबैलाई पालो मिलाएर भेटिरहेका छन् । भेटेकामध्ये उल्लेख्य तस्बिर सोसल मिडियामा पोस्ट गर्ने अभियान नै चलेको छ ।

स्थानीयलाई भने ओलीको सञ्जाल क्याम्पेनले छोएको छैन, बरु विगतमा एमाले कार्यकर्ताहरुले गरेको तितोपिरो व्यवहारसमेतलाई जोडेर तिनीहरु टिप्पणी गरिरहेका छन् ।

ओली र बालेनबीच झापाको चुनाव प्रचारमा एउटा सामानता देखिएको छ, ओली पनि पार्टीको औपचारिक इकाइबाट कम, आफ्नै सर्कलबाट बढ्ता घेरिएका छन् । बालेन पनि रास्वपाको औपचारिक संगठनभन्दा आफ्नै सर्कलमा रहेर प्रचार अघि बढाइरहेका छन् ।

नेकपाका रन्जित तामाङले राजनीतिक सोच भएका युवालाई प्रभावित पार्न खोज्दैगर्दा कांग्रेसकी मन्धरा चिमरिया पौडेल सामाजिक सेवाबाट प्राप्त नैतिक बललाई चुनावमा देखाइरहेकी छन् । माटो अर्थात श्रम संस्कृति पार्टीका उम्मेदवार समीर तामाङले भने स्वयंसेवाको भावना र श्रमको सम्मानलाई नै बढता चुनावी प्रचारमा लगेका छन् ।

कांग्रेस उम्मेदवार चिमरिया भन्छिन्, ‘यो सांसद जिताउने चुनाव हो, जमिनमा जो जोडिएको छ, त्यो हेभीवेट हो । यहाँ कोही प्रधानमन्त्री भन्दै हिँडेर हेभिवेट हुने होइन । सामाजिक सम्बन्धमा जो जोडिएको छ, त्यसैलाई जनताले मन पराउँछन् ।’

उनले यसो भने पनि अन्य उम्मेदवारहरुका प्रचारलाई बालेन र ओलीको प्रचारले बढ्ता प्रभावित पारेको छ ।

फागुन ४ पछि बालेन भने देशदौडाहामा सक्रिय हुने, खासगरी प्रदेश स्तरका चुनावी अभियान अघि बढाउने तयारीमा छन् ।

ओलीले स्थानीय किसान, महिला, बुढापाका भेट्दैगर्दा बालेन कन्टेन्ट क्रियटरहरु, विज्ञान प्रविधि र इन्जिनियरिङमा केही गरिरहेका व्यक्तिहरु, बढ्ता युवाहरु भेटिरहका छन् । बालेन भेट्न रास्वपा सम्पर्क अफिसमा पुग्नेमा युवामात्रै थिएनन्, बुढाबुढीहरुको पनि उल्लेख्य संख्या देखिन्थ्यो ।

गौरीगन्ज ।

यसअघि गुइँठाको दृष्टान्त दिएर बालेनलक्षित अभिव्यक्ति दिएपछि ओली दक्षिण झापाका आदिवासी गाउँहरुमा अझै बढ्ता आलोचित बनेका छन् । गौरीगन्ज, चैतुचोक लगायत ठाउँका बासिन्दालाई लागिरहेको छ, ओलीले मधेसी समुदायलाई गुइँठा बाल्नेहरुले दमकतिर आएर सफा सहरमा बस्नेहरुलाई के सिकाउने भन्ने आशयको अभिव्यक्ति दिएर अक्षम्य गल्ती गरेका छन् ।

एकातिर ओलीलाई आफ्नो क्षेत्रमा विगतदेखिका मतदातालाई चित्त बुझाउनुपर्ने चुनौती छ ।

गौरीगन्ज गाउँपालिका वडा-३ का स्थानीय बाबुराम कटुवालले भने,’राष्ट्रिय अन्तर्राष्ट्रिय हिसाबले लडेको, संघर्ष गर्नुभएको व्यक्ति हो केपी ओली, तर उहाँको मात्रै नभएर कतिपय कार्यकर्ताहरुको कार्यशैलीका कारण पनि मतदाता बिच्किएका छन् ।

एक हिसाबले भन्ने हो भने ओलीलाई जवाफ दिनुपर्ने छ, बालेनलाई प्रश्न सोध्ने सुविधा छ । तर प्रश्न त उनीमाथि समेत उठेका छन्, जसको न उनी जवाफ दिन्छन्, न प्रश्न सोध्छन् । बरु अभिव्यक्तिभन्दा शैलीलाई नै सन्देश बनाएर उनी हिँडिरहेका छन् ।

एमालेको दमक वडा ३ को कार्यालमै पुगेर बालेनले ओली समर्थकहरुसँग हात मिलाउँदै अघि बढे जसको तुरुन्तै सोसल मिडिया सेलेब्रेसन भइहाल्यो । स्थानीय गणेश पौडेलले भने, ‘उनको शैली एकदमै भिन्न खालको छ । यसअघिका उम्मेदवारहरूले अपनाउने प्रचार शैली बालेनको छैन । आफ्नो सेलेब्रिटी छविलाई चुनावमा राम्रोसँग प्रयोग गरेका छन् ।

यति बेला एमाले आफ्नो सक्रिय संगठनपंक्तिलाई चलायमान बनाएर जित निकाल्ने कोसिसमा छ । रास्वपा चाहिँ सामाजिक सन्जालको शक्तिलाई मतबाकसमा सिद्ध गर्न चाहन्छ ।

जवाफ दिनुपर्ने ठाउँमा ओलीप्रश्न सोध्ने सुविधामा बालेन

यो चुनावको अर्को पनि रोचक पक्ष छ ।

१८ वर्षअघि एमालेले प्रधानमन्त्रीय प्रणालीको वकालत गर्दै संविधानसभा चुनाव लडेको थियो । त्यसबेला केपी शर्मा ओली पार्टीका प्रभावशाली वरिष्ठ नेता थिए । उनै ओली पार्टी अध्यक्ष रहेका बेला आफ्नो साविकको निर्वाचन क्षेत्रमा आठौंपल्ट चुनाव लड्दैछन्, जसले प्रधानमन्त्रीय प्रणालीको झल्को दिएको छ ।

खासमा यो प्रतिनिधिसभा सांसदकै चुनाव हो, तर ओलीले देशैभरिका विषयमा जवाफ दिनु परिरहेको छ ।

सबैभन्दा ज्वलन्त प्रश्न भदौ २३ मा गएर ठोक्किन्छन्, ओली त्यस बेला प्रधानमन्त्री थिए ।

२३ भदौमा संसद भवनअघि मच्चिएको रक्तपातको भोलिपल्ट ओलीले राजीनामा दिएका थिए । उनलाई सेनाको हेलिकप्टरले उद्धार गरेर चनवन ब्यारेक, मकवानपुर पुर्‍याएको थियो । कांग्रेस तत्कालीन सभापति शेरबहादुर देउवाले प्रदर्शनकारी र केही संदिग्ध व्यक्तिको कुटाई खाएका थिए । तत्कालीन माओवादी अध्यक्ष प्रचण्ड सहितका नेताहरु, कांग्रेस वर्तमान सभापति गगन थापा आदिको घर जलेको थियो ।

यी सबै प्रश्न ओलीको नेतृत्व र अनि जिम्मेवारीसँग ठोक्किएका छन् ।

यी प्रश्न ती व्यक्तिले उठाइरहेका छन्, जसलाई २४ भदौको हिंसा र अराजकतालाई उचालेको आरोप छ । काठमाडौंका तत्कालीन महानगर मेयर बालेन्द्र शाहले सिंहदरबार जलाउने धम्कीपूर्ण अपिल गरेका थिए, जो उनै ओलीसँग प्रधानमन्त्रीको प्रतिष्पर्धामा छन् ।

रास्वपाले बालेनलाई वरिष्ठ नेताका रुपमा प्रवेश दिलाएको छ । यो चुनावपछि बन्ने सरकारका लागि भनेर प्रधानमन्त्री उम्मेदवार प्रस्तावित बालेन्द्र शाह उनै ओलीसँग प्रतिष्पर्धा गर्न भनेर यहाँ आएका छन् ।

एमालेले प्रधानमन्त्रीय प्रणालीले वकालत गरेकै चुनावमा ओली ०६४ मा पराजित थिए । त्यसयता उनी सधैं अपराजित रहँदै आए । यसपल्ट प्रधानमन्त्रीय प्रणाली झल्को दिने क्षेत्रगत प्रतिष्पर्धामा उनको भेट बालेन्द्र शााहसँग भएको छ  ।

यस प्रतिष्पर्धामा ओली बालेन प्रतिष्पर्धाका दुईवटा आयाम छन् ।

एक, ओली जवाफ दिनुपर्ने ठाउँमा छन्, बालेन प्रश्न सोध्ने सुविधामा ।

दुई, ओलीलाई चारपल्टका प्रधानमन्त्री र तीनपल्टका पार्टी अध्यक्षका रुपमा अब शंकाको सुविधा घट्दै गएको छ । बालेन आफुमाथि कतिपय प्रश्नका बाबजुद सामाजिक सन्जालको आकर्षणमा छन् ।

प्रदेश मुख्यमन्त्री, अरु सांसदहरुमाथिका, नगर मेयरका विषयमा समेत उनी ठोक्किइरहेका छन् ।

शनिबार कमल गाउँपालिकामा उनले मतदाताहरुलाई चित्त बुझाउन हिँडे । आइतबार पाडाजुँगीतिर

ओलीको चुनावी परिचालनमा सहभागी एमाले दमक नगर कमिटी अध्यक्ष राम पौडेल भन्छन्,’ मतदातालाई भेट्ने, घरदैलो गर्ने क्रम सुरु भइसकेको छ । यसअघि सबै पार्टीहरु हाम्रो विरुद्धमा लाग्दासमेत अधिकांश वडामा हामीले जितेको हो । यसपल्ट पनि हामी त्यसरी नै जित्छौं । सोसल मिडियाको हल्लालाई सत्यतथ्य र तर्कमा आधारित बहसले नै जित्छौं ।

बालेनको जबर्जस्त उदय भएमा एमाले स्वयंमात्रै नभई अरु शक्तिका लागि समेत आगामी दिनहरु सहज नहुन सक्छन् भन्ने संशयपूर्ण आकलन एमालेको छ । कांग्रेस, नेकपा, राप्रपा पक्षलाई एमालेले सम्झाउन खोजेको बुझ्न सकिन्छ । अरु दलमा समेत पहिरो गएको अवस्थामा भने एमाले एक्लैले स्थिति नियन्त्रणमा राख्न नसक्ने बुझाइमा छ ।

ओली दोहोरिएर प्रधानमन्त्री उम्मेदवार प्रस्तावित हुँदैगर्दा बालेन भने ठिक भिन्न निकटविगतबाट आएका छन् ।

बालेनका लागि भदौरे विद्रोहलगत्तै प्रधानमन्त्री बन्ने अफर आएको थियो । उनले त्यसबेला आफू जेनजीको प्रतिनिधि नभएको भन्दै नकारेका थिए । उनले आन्दोलनको स्वामित्व लिएनन्, तर आन्दोलनकारीलाई संसद विघटन र सेनासँग वार्ताका लागि अनौठो तरिकाले निर्देशित गर्दैरहे ।

चुनाव क्षेत्रगत हिसाबले ओलीलाई प्रश्न गर्न सकिने ठाउँ रहे पनि राष्ट्रिय राजनीतिमा खेलेको भूमिकाका कारणले ओलीभन्दा कम प्रश्नको सुविधामा भने बालेन पनि छैनन् ।

सुरुमा बालेनको आक्रामक प्रचारबाट झस्केको एमाले अहिले ओली स्वयंलाई प्रचारमा उतारेपछि अस्तिभन्दा केही ढुक्क देखिएको छ ।

बालेन पक्षको बुझाइमा यही चुनावी तापक्रम मतदानका दिनसम्म जारी रहे उनीहरुका लागि सहज पर्ने छ । एमाले भने चुनावको दिन नजिकिँदै जाँदासम्म स्थानीयलाई आफ्ना कुरा संगठनको मार्फत् बुझाएरै छाड्ने दाबी गरिरहेको छ ।

यसअघिको चुनावी गणितले झापा-५ का लागि होइन । बरु देशैभरिको भिडन्त कुन स्वरुपमा जाला भनेर झापामा परीक्षण हुन खोजेको जस्तो देखिन्छ । प्रधानमन्त्रीय प्रणाली त होइन, तर झापा-५ ले देशलाई प्रधानमन्त्रीय प्रणालीको झल्को दिएको छ ।

गौरीगन्ज दर्पण डटकमका सम्पादक तथा स्थानीय पत्रकार मदन राजवंशीले भने, ‘यहाँ पूर्वाधार बनेका छन्, तर सुविधाको गुणस्तर छैन । शिक्षा स्वास्थ्य अहिले पनि यहाँको मूख्य एजेन्डा हो, तर अनुहारको प्रतिष्पर्धाले एजेन्डा ओझेलमा परेको छ । यसपल्टको चुनाव पहिलेभन्दा एकदमै फरक देखिएको छ ।-0-

source-Online/K

SHARE:

प्रतिक्रिया दिनुहोस्

थप समाचारहरू

ताजा समाचार