सभापति रवि लामिछानेदेखि प्रधानमन्त्रीका आकांक्षी बालेनसम्म मन्दिर धाउँदै

हिन्दू राष्ट्रको मागप्रति भने तैं चुप–मै चुप ,चुनावअघि धार्मिक रुझान देखाउँदै रास्वपा नेताहरु

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने आज आफ्नो चुनावी अभियानका लागि चितवन पुग्नासाथ सबैभन्दा पहिले मन्दिर दर्शनमा गए । उनले आफ्नो निर्वाचन क्षेत्र चितवन २ भित्रै रहेको हरिकिर्तन मन्दिरमा पुगेर स्वस्तिशान्ती पूजा गरेका थिए ।

रविसँगै थिए, चितवनका अन्य २ रास्वपा उम्मेदवार सोविता गौतम र हरि ढकाल । सबैजना धार्मिक भावनाले ओतप्रोत देखिन्थे । तर, अनुष्ठानकै क्रममा मन्दिरका पुजारीले लामिछानेसामू ‘हिन्दू राष्ट्र’ र ‘राजासहितको प्रजातन्त्र’ को माग राखिदिएपछि उनीहरुको अनुहारको भाव बदलिन थाल्यो ।

पूजारीको भनाइ यस्तो थियो– हिन्दू राष्ट्र कायम हुनुपर्छ भन्ने र राजासहितको प्रजातन्त्र हुनुपर्छ भन्ने जनताको आवाज छ । तपाईंहरुले यस्ता कुरा बुझेर, मनन गरेर जानुस् । हिन्दू हाम्रो वैदिक सनातन धर्म हो । धर्म मेटिएपछि केही पनि रहँदैन । तपाईंहरुले यसलाई अघि बढाउनुहुन्छ भन्ने आशा छ ।’पूजारीले यस्तो आग्रह गरिरहुँदा रविले हाँस्दै मुन्टो हल्लाएर गम्भीरता लुकाउन खोजेका थिए । सँगै रहेकी उनकी पत्नी निकिता पौडेले मुस्कुराइन् मात्रै । सोविता भावुक देखिइन् भने हरिले पुलुक्क रविको मुखमा हेरे । कसैले पनि बोलेर कुनै जवाफ भने दिएनन् ।

रास्वपाका उम्मेदवारहरुका लागि यो कुनै नौलो दृष्य भने थिएन । भोट माग्न जाँदा उनीहरुले सबैभन्दा बढी सुन्ने माग भनेकै हिन्दू राष्ट्र र संघीयता खारेजी हुन् । हिन्दू धर्मप्रति आस्थावनाहरुको वाहुल्य रहेको देशमा मतदाताको ‘सेन्टिमेन्ट’ बटुल्न चुनावअघि मन्दिर धाउने उपक्रम पनि नयाँ होइन । एमाले अध्यक्ष केपी ओलीदेखि कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा र वर्तमान सभापति गगन थापासम्म यसमा अभ्यस्त छन् ।

रविले आज मन्दिर दर्शन मात्र गरेनन्, चितवनमा २ मा रहेको आफ्नो अस्थाइ निवासमा धार्मिक अनुष्ठानसहित ‘गृह प्रवेश’ पनि गरे । जबकि यो घर उनले किनेको नभएर भाडामा लिएका हुन् । केही समयका लागि डेरामा बस्न जाँदा गरिएको ‘गृह प्रवेश’ लाई पनि रणनीतिक ठानिएको छ ।

रवि मात्र नभएर रास्वपाद्वारा प्रधानमन्त्रीमा प्रस्तावित बालेन्द्र साह पनि चुनावी प्रचारका क्रममा पटक–पटक धार्मिक स्थलहरुमा देखिने गरेका छन् । यो पूर्णरुपमा रणनीतिक हो । उनले आफ्नो चुनावी अभियानको सुरुवात नै पवित्र धार्मिक स्थल जनकपुरबाट गरेका थिए । जनकपुरमा आमसभापश्चात उनले जानकी मन्दिरमा गएर पुजा अनुष्ठानसमेत गरे । उनी ताप्लेजुङमा रहेको प्रख्यात पाथिभारा मन्दिरमा पनि पुगेका थिए । त्यहाँ उनले भक्ति आराधना गरिरहेको तस्विर सचिवालयले सार्वजनिक गरेको थियो ।

चुनाव नजिकिएसँगै अत्यधिक धार्मिक रुझान देखाइरहेका अर्का रास्वपा नेता हुन् उपसभापति डा. स्वर्णिम वाग्ले । सामाजिक सञ्जालमा वाग्लेले ‘हिन्दूहरुलाई आफ्नो पार्टीमा स्थान नरहेको’ भाषण गरेको भनेर ‘फेक न्यूज’ भाइरल बनाइएको थियो । यस्तै, उनी क्रिस्चियन हुन् भन्ने अर्को अफवाह पनि चलाइएको छ । यी दुवै भ्रमलाई चिर्न वाग्लेले भरमग्दुर प्रयास गरिरहेका छन् । उनले प्रहरीको साइबर ब्यूरोमा उजुरी समेत दिएका थिए ।

वाग्लेले तनहुँको देवघाटधाममा घन्टी बजाउँदै आफ्नो चुनावी अभियानको संखघोष गरेका थिए । त्यसयता उनी पटकपटक विभिन्न मन्दिर दर्शनमा गएर सामाजिक सञ्जालमा पोस्ट गरिरहेका हुन्छन् । घरदैलोमा जाँदा पनि निधारमा रातो टिका लगाउन बिर्सिँदैनन् । आफू पण्डितको नाति भएको ५ वर्षको उमेरदेखि देवघाट आउने गरेको भन्दै मतदातालाई ‘कन्भिन्स्ड’ गर्ने प्रयास गर्छन् । केही दिनअघि उनले स्थानीय सन्त–महन्तहरुसँग अन्तरिक्रिया गरेर आफू स्पष्टरुपमा हिन्दू भएको जनाउ दिएका थिए ।

मतदाता रिझाउन मन्दिर धाउने र धार्मिक अवतारमा देखा पर्ने रास्वपा नेताहरुले हिन्दू राष्ट्रको मागप्रति भने मौनता साँध्ने गरेका छन् । कतिपय नेताहरु व्यक्तिगत रुपमा हिन्दू राष्ट्रको मागप्रति सहमत छन्, तर पार्टीको यो नीति नभएको हुँदा खुलेर बोल्न सक्दैनन् । स्वयम् सभापति लामिछाने पनि यही विरोधाभासबाट गुज्रिरहेको आशंका गर्न सकिन्छ ।

रास्वपाभित्र कट्टर हिन्दूवादीदेखि कट्टर धर्मनिरपेक्षतावादीहरु समेत भएकाले सन्तुलन मिलाउनुपर्ने वाध्यता् पनि रविलाई छ । रास्वपा स्थापनामा अहम् भूमिका खेलेका तत्कालीन महामन्त्री डा. मुकुल ढकाल पार्टी परित्यागपछि ‘हिन्दू राष्ट्र’ को पक्षमा खुलेका छन् । उनी रास्वपामा हुञ्जेलसम्म हिन्दु राष्ट्रको वकालत गर्न सकेका थिएनन् । अहिले उनी सामाजिक सञ्जालमा संघीयता र धर्मनिरपेक्षता खारेज गर्नुपर्ने तथा राजालाई पनि संविधानमा स्थान दिनुपर्ने वकालत गरिरहेका हुन्छन् ।-0-

SHARE:

प्रतिक्रिया दिनुहोस्

थप समाचारहरू

ताजा समाचार