एमालेको ११औँ राष्ट्रिय महाधिवेशन आजदेखि, सल्लाघारीमा भव्य उद्घाटन

काठमाडौं, मंसिर २७ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशन आजदेखि सुरु हुँदैछ । महाधिवेशनको उद्घाटन पार्टी अध्यक्ष केपी शर्मा ओलीले भक्तपुरको सल्लाघारीस्थित मैदानमा दिउँसो १ बजे गर्ने कार्यक्रम छ ।

मंसिर २९ गतेसम्म सञ्चालन हुने महाधिवेशनमा देशभरबाट दुई हजार २६२ प्रतिनिधि सहभागी हुनेछन् । नेतृत्व चयनका लागि आइतबारदेखि काठमाडौंको भृकुटीमण्डपमा बन्दसत्र सञ्चालन गरिने छ ।

पार्टीको ११औँ महाधिवेशन भएकाले विशेष रूपमा ११ वटा झण्डा राखिने, जसमध्ये १० वटा झण्डा सुरुमै फहराइने र एउटा झण्डा रिमोटमार्फत फहराइने तयारी गरिएको एमाले प्रचार तथा प्रकाशन विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए ।

भदौ २० देखि २२ गतेसम्म सम्पन्न दोस्रो विधान महाधिवेशनबाट पारित विधान र नीतिअनुसार अध्यक्ष पदका लागि केपी शर्मा ओली र वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलबीच प्रतिस्पर्धा हुने भएको छ । दुवै पक्ष १५ सदस्यीय पदाधिकारीका लागि प्यानलसहित मैदानमा उत्रिने सम्भावना छ ।

हिजो बसेको केन्द्रीय सचिवालय बैठकले महाधिवेशनको निर्वाचन प्रक्रिया, बन्दसत्र सञ्चालन र नेतृत्व निर्माणको आधार तय गरिसकेको छ । विधानअनुसार २५१ सदस्यीय केन्द्रीय कमिटी र १५ सदस्यीय पदाधिकारी चयन गरिने उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए ।

गौतमका अनुसार महाधिवेशनको सम्पूर्ण तयारी पूरा भइसकेको छ । उद्घाटन सत्रमा देशभरबाट करिब तीन लाख मानिस सहभागी हुने दाबी गरिएको छ । उद्घाटन समारोहमा नेपालको एकताको प्रतीक झल्किने २०० भन्दा बढी कला, संस्कृति र परम्परासँग सम्बन्धित झाँकी प्रदर्शन गरिनेछ ।

समारोहमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा (माओवादी केन्द्र) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’सहित १६ वटा विभिन्न राजनीतिक दलका अध्यक्ष तथा प्रतिनिधिलाई निमन्त्रणा गरिएको छ ।

महाधिवेशनलाई शान्तिपूर्ण र भयरहित वातावरणमा सम्पन्न गर्न एमालेका २४ वटा जनसङ्गठनको प्रतिनिधित्व हुने गरी ५०० भन्दा बढी स्वयंसेवक ‘ड्रेसकोड’मा परिचालन गरिनेछ भने करिब १० हजार तालिम प्राप्त स्वयंसेवक जनसेवामा खटिने तयारी गरिएको छ ।

SHARE:

प्रतिक्रिया दिनुहोस्

थप समाचारहरू

ताजा समाचार