धादिङ, मंसिर २० । धादिङको धुनिवेशी नगरपालिका–६ स्थित चालिसे क्षेत्रमा आज अपराह्न भीषण सवारी दुर्घटना भएको छ । एकै पटक ६ वटा सवारी साधन एकआपसमा ठोक्किँदा ठूलो मानवीय क्षति भएको हुनसक्ने आशंका गरिएको छ।
इलाका प्रहरी कार्यालय खानिखोलाका अनुसार एउटा डिब्बा गाडीको ब्रेक फेल भएकै कारण नियन्त्रण गुमाउँदै सडकमा गुडिरहेका अन्य सवारीमा ठोक्किन पुगेपछि दुर्घटना श्रृंखलाबद्ध रूपमा फैलिएको प्रारम्भिक अनुमान गरिएको छ। दुर्घटनामा स्कुल बस, तीनवटा यात्रुवाहक बस, एक डिब्बा गाडी, एक ट्रक र एउटा मोटरसाइकल समावेश रहेका छन्।
दुर्घटनापछि प्रहरी र स्थानीयवासीले उद्धार कार्य अघि बढाइरहेका छन्। घाइतेमध्ये केहीलाई उपचारका लागि अस्पताल पठाइएको र थप घाइतेहरुलाई पनि निरन्तर अस्पताल पुर्याउने काम भइरहेको प्रहरीले जनाएको छ।
घटनास्थलमा अहिले पनि भीड बढिरहेको छ भने प्रहरी टोलीले सडक सञ्चालन र उद्धारलाई सहज बनाउन प्रयास जारी राखेको छ।
दुर्घटनाबारे थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ।


