मकवानपुर, मंसिर २० — हेटौँडाको मुख्य बजार क्षेत्रमा शनिबार बिहानैदेखि सडक डिभिजन हेटौँडाले बलपूर्वक संरचना हटाउन थालेको छ। बिहान अँध्यारोमै ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरी सडक दायाँ–बायाँका घर, टहरा तथा अन्य संरचनामा डोजर चलाइएको हो।
सडक डिभिजनले बजारका एक दर्जनभन्दा बढी स्थानमा बुल्डोजर परिचालन गर्दै हटाउने काम जारी राखेको छ। यसअघि सडक विस्तारका लागि मंसिर ५ गते सूचना जारी गर्दै त्रिभुवन राजपथको रातोमाटेदेखि सामरी पुलसम्म तथा महेन्द्र राजमार्गको बुद्धचोक हुँदै राप्ती पुलसम्म २५–२५ गज सडक सीमा विस्तार गर्न संरचना हटाउन १५ दिने म्याद दिएको थियो।
तर स्थानीयले उचित मुआब्जा र क्षतिपूर्ति बिना घर–टहरा नहटाइने भन्दै अस्वीकार गरेपछि सडक डिभिजनले सुरक्षा निकायको सहयोगमा बलपूर्वक संरचना भत्काउन थालेको हो। शुक्रबार साँझदेखि नै नेपाली सेना, सशस्त्र प्रहरी तथा नेपाल प्रहरी बजार क्षेत्रमा तैनाथ गरिएको थियो।
यसैबीच, हेटौँडाको सडक विस्तार सम्बन्धी उत्प्रेषण रिटमाथि सुनुवाइ गर्दै सर्वोच्च अदालतले शुक्रबार नै सडक विस्तारको सूचना तत्काल कार्यान्वयन नगर्न आदेश दिएको थियो। अल्पकालीन अन्तरिम आदेशमार्फत संरचना नहटाउन निर्देशन दिए पनि केही स्थानमा डोजर चलाइएकाले स्थानीयले विरोध जनाएका छन्।
सडक विस्तारको विरोधमा हेटौँडा बजार क्षेत्रका बासिन्दा तथा व्यवसायी विगत केही दिनदेखि व्यवसाय बन्द गरी दैनिक आन्दोलनमा उत्रँदै आएका छन्।


