लुम्बिनी प्रदेश सभाको हिउँदे अधिवेशन आजदेखि प्रारम्भ, पाँच दिन निरन्तर सञ्चालन

रुपन्देही । जेन्जी आन्दोलनपछि भदौ अन्तिममा सकिएको लुम्बिनी प्रदेशको वर्षे अधिवेशनलाई करिब दुई महिनापछि हिउँदे अधिवेशन आजबाट सुरु हुँदैछ । यसअघि सरकारले पर्याप्त बिजनेस नपेश गरेको भन्दै सांसदहरूले आलोचना गरेपछि केही तयारी भए पनि अधिवेशनका लागि चाहिने कार्यसूची भने पर्याप्त रूपमा तयार हुन नसकेको देखिन्छ ।

प्रदेश सभाको सातौँ (हिउँदे) अधिवेशनको पहिलो बैठक दिउँसो १ बजे बस्नेछ । प्रदेश सभा सचिव दुर्लभ कुमार पुनमगरका अनुसार सम्भावित कार्यसूची तयार भइसकेको छ । कार्यसूचीअनुसार बैठकमा सभामुखले प्रदेश प्रमुखको कार्यालयबाट आएका तीन पत्र— सातौँ अधिवेशन आह्वान सूचना, मन्त्रिपरिषद् पुनर्गठनसम्बन्धी पत्र र छैटौँ अधिवेशनबाट पारित विधेयक प्रमाणीकरणसम्बन्धी पत्र — पढेर सुनाउनेछन् ।

बैठकमा सभामुखले सदस्यहरूको उपस्थिति–अनुपस्थितिको जानकारी पेस गर्नेछन् । त्यसपछि दलका तर्फबाट प्रदेश सभा सदस्यहरूको शुभकामना मन्तव्य रहने कार्यक्रम छ । हिउँदे अधिवेशनका लागि प्रदेश सभा सचिवालयमा जिल्ला सभा तथा जिल्ला समन्वय समिति सञ्चालन सम्बन्धी ऐन, २०७५ संशोधन विधेयक र स्थानीय तहका पदाधिकारी तथा सदस्य सुविधा सम्बन्धी ऐन, २०७६ संशोधन विधेयक दर्ता भइसकेका छन् । साथै, प्रदेश मन्त्रिपरिषद्ले थप विधेयक प्रदेशसभामा पठाउन स्वीकृति दिएको छ ।

सरकारले लुम्बिनी प्रज्ञा प्रतिष्ठान स्थापना तथा सञ्चालन विधेयक, प्रदेश जीवनाशक विषादी व्यवस्थापन तथा नियमन विधेयक, र दलित समुदायको अधिकार सुनिश्चित गर्ने विधेयक पेश गर्न स्वीकृति दिएको छ । गत भदौ ३१ गते लुम्बिनी प्रदेशको छैटौँ (वर्षे) अधिवेशन अन्त्य भएको थियो ।

आइतबार बसेको मन्त्रिपरिषद् बैठकले उद्योग, पर्यटन तथा यातायात मन्त्रालयको बाधा–अड्काउ फुकाउ प्रस्ताव स्वीकृत गरेको छ । सडक सवारी तथा यातायात ऐन, २०७६ को दफा ११९ बमोजिम निर्देशनालय गठन नभएसम्म आवश्यक कार्य मन्त्रालयमार्फत गर्न सकिने व्यवस्था गरिएको छ । त्यस्तै, लुम्बिनी प्रज्ञा प्रतिष्ठान सम्बन्धी विधेयक पेश गर्न अनुमति, विषादी व्यवस्थापन विधेयक पठाउन स्वीकृति, दलित अधिकारसम्बन्धी विधेयक तथा अपाङ्गता रोकथाम तथा पुनर्स्थापना कार्यक्रम कार्यविधि, २०८२ पारित गरिएको छ ।

यसैगरी, भीम अस्पतालमा सरुवा भएकी कन्सल्टेन्ट डेन्टल सर्जन डा. वर्षा थापालाई मेडिकल सुपरिन्टेन्डेन्टको जिम्मेवारी दिने निर्णय गरिएको छ । शिवराज नगरपालिकाको हाटबजार व्यवस्थापनका लागि जग्गा प्राप्तिमा सहजीकरण गर्न संघीय सरकारलाई अनुरोध गर्ने निर्णय पनि बैठकले गरेको छ ।

सभामुख तुलाराम घर्तीमगरले हिउँदे अधिवेशन करिब पाँच दिन लगातार सञ्चालन गर्ने संकेत गरेका छन् । “केही बिजनेस आइसकेका छन्, केही सरकारले तयारी गरेको छ, विशेष समयमा सांसदहरू पनि बोल्ने छन् । त्यसैले करिब पाँच दिन चलाउने योजना छ,” उनले बताए ।

SHARE:

प्रतिक्रिया दिनुहोस्

थप समाचारहरू

ताजा समाचार