काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले काठमाडौँ उपत्यकाका मेयरहरुसँग आज साँझ बालुवाटारमा महत्वपूर्ण छलफल गरेकी छन् । उपत्यका मेयर्स फोरमको प्रतिनिधिमण्डलसँग भएको भेटमा स्थानीय तहका प्रमुखले प्रधानमन्त्री कार्कीको नेतृत्वमा आसन्न निर्वाचन सफलतापूर्वक सम्पन्न हुने विश्वास व्यक्त गर्दै त्यसका लागि पूर्ण सहयोग गर्न तयार रहेको बताए।
छलफलका क्रममा मेयरहरूले फोहोर व्यवस्थापन, सडक बत्तीको बक्यौता, सुरक्षा चुनौती, मुआब्जा, सडक विस्तार तथा दीर्घकालीन विकासका काममा देखिएका समस्याबारे प्रधानमन्त्रीसमक्ष ध्यानाकर्षण गराए।
ललितपुरका मेयर चिरिबाबु महर्जनले सडक बत्तीको पुरानो बक्यौता रकम राफसाफ गर्न माग गर्दै ६०% स्थानीय र ४०% संघीय सरकारले तिर्ने व्यवस्था गर्नुपर्ने बताए।
यस्तै, जेनजी आन्दोलनपछि उत्पन्न सुरक्षाजन्य चुनौतीका कारण स्थानीय तहका कार्यालय सञ्चालनमा कठिनाइ परेकाे भन्दै सहजीकरणका लागि आग्रह पनि गरियो।
गोकर्णेश्वर, टोखा, बूढानीलकण्ठ, कीर्तिपुर र चाँगुनारायणका मेयरहरूले क्रमशः नेपाल ट्रस्टको जग्गामा सडक विस्तार, टोखाछहरे सडकका लागि मुआब्जा निर्णय, भदौ २४ को लुटपाट घटनामा कानुनी कारबाही, त्रिवि जग्गामा पूर्वाधार निर्माण अनुमति र लामो समयदेखि रोकिएको सल्लाघारी–नगरकोट सडक निर्माण चाँडो पूरा गरिदिनुपर्ने माग गरे।
फेडेरल सरकारद्वारा ३ करोडभन्दा कम बजेटका योजना कटौती गरिनुले स्थानीय विकास रोकिएको गुनासो पनि जनप्रतिनिधिहरूले साझा रूपमा राखे।
प्रधानमन्त्री कार्कीले आफू हाल निर्वाचनमा केन्द्रित रहेको उल्लेख गर्दै उठाइएका माग र समस्यामा सम्भव हदसम्म समाधान खोजिने बताइन्। निर्वाचन मात्र गराउने कि अन्य काम नगर्ने भन्ने प्रश्न उठिरहेकाले आचारसंहिता लागू हुने अवस्थाका बीच पनि आवश्यक काममा सहकार्य गर्ने संकेत उनले गरिन्।
युवापुस्तामा बढ्दो असन्तुष्टिबारे टिप्पणी गर्दै प्रधानमन्त्री कार्कीले विगतका गलत अभ्यासलाई मनन गरेर देशलाई बस्नलायक बनाउन सबै तहले मिलेर काम गर्नुपर्ने धारणा राखिन्।
“समाज बिग्रियो भने पनि बनाउने जिम्मा हाम्रै हो। अब युवालाई अघि बढ्न दिनुपर्छ,” उनले भनिन्, “विगत ३०–३५ वर्षको एकलौटी शासनप्रति युवामा वितृष्णा बढेको देखिन्छ, त्यसैले समस्याको समाधान हामीले नै खोज्नुपर्छ।”


