काठमाडौँ । नेकपा एमालेले ‘प्रतिगामी षड्यन्त्र’विरुद्ध जनपरिचालन अभियानअन्तर्गत आज देशभर ठूलो जनसभा गर्दैछ। अधिकांश जिल्लाका सदरमुकाम तथा ठूला शहरमा आयोजना हुने जनसभाका लागि केन्द्रीय सदस्यहरू जिल्लामा खटिइसकेका छन्।
एमाले प्रचार तथा प्रकाशन विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार जनसभामा व्यापक सहभागिता जुटाउन पार्टीले सबै जिल्ला इन्चार्जलाई जिम्मेवारी तोकेको छ। “आजको सभाबाट एमाले अहिलेसम्म पनि देशभर लोकप्रिय शक्ति भएको पुष्टि हुन्छ,” गौतमले बताए।
एमालेको जनपरिचालन कार्यक्रम चार चरणमा सञ्चालन भइरहेको छ। कात्तिक २२ गते देशभर वडा भेला, कात्तिक २५ गते अधिकांश पालिकामा र्याली तथा जनप्रदर्शन सम्पन्न भएको थियो। तेस्रो चरणअन्तर्गत आज सबै जिल्लामा जनसभा हुँदैछ। अन्तिम चरणमा मंसिर ६ गते काठमाडौँमा विशाल जनसभा गरी कार्यक्रम समापन गरिनेछ।
आजका जनसभाहरूलाई पार्टीका शीर्ष नेताहरूले सम्बोधन गर्ने तालिका तय भएको छ। महासचिव शंकर पोखरेल नेपालगञ्जमा, उपमहासचिव प्रदीप ज्ञवाली गुल्मीमा र उपमहासचिव पृथ्वी सुब्बा गुरुङ लमजुङमा हुने सभामा सम्बोधन गर्नेछन्।
त्यसैगरी, रुपन्देहीको कार्यक्रममा सचिव छबिलाल विश्वकर्मा, झापाको विर्तामोडमा सचिव पद्मा अर्याल, तथा कोशी प्रदेशका मुख्यमन्त्री एवं स्थायी कमिटी सदस्य हिक्मत कार्कीले धनकुटामा आयोजना गरिएका जनसभामा सम्बोधन गर्ने कार्यक्रम रहेको छ।


