काठमाडौं । मधेस प्रदेशमा मुख्यमन्त्री नियुक्तिविरुद्ध ७४ जना सांसदले दायर गरेको रिटमा आज सर्वोच्च अदालतमा पेसी तोकिएको छ । कुल ११० सदस्यीय प्रदेशसभामध्ये ७४ सांसदले हाल नियुक्त भएका मुख्यमन्त्रीको नियुक्ति संविधानविपरीत भएको दाबी गर्दै सर्वोच्चमा रिट दर्ता गरेका हुन् ।
सांसदहरूको हस्ताक्षरसहित नेपाली कांग्रेस संसदीय दलका नेता कृष्ण यादवले वारिस बनेर उक्त रिट दायर गरेका थिए । उनीहरूले मुख्यमन्त्री नियुक्तिको निर्णय तत्काल स्थगन गरी पुनः संवैधानिक प्रक्रिया अनुसार सरकार गठनको आह्वान गर्न अन्तरिम आदेश माग गरेका छन् ।
सर्वोच्च अदालतका प्रवक्ता सहरजिस्ट्रार अर्जुनप्रसाद कोइरालाका अनुसार रिटमा आजका लागि पेसी तोकिएको हो ।
मधेस प्रदेशमा गत महिनामात्रै लोसपाका जितेन्द्र सोनाल मुख्यमन्त्री बनेका थिए । तर, विश्वासको मत नलिएर राजीनामा दिएपछि प्रदेश प्रमुखले एमाले संसदीय दलका नेता सरोज यादवलाई मुख्यमन्त्री नियुक्त गरेका थिए । कांग्रेस–एमाले गठबन्धन टुटेपछि सातदलीय नयाँ गठबन्धन बनेको र संविधानको धारा १६८(२) अनुसार नयाँ सरकार गठनको प्रक्रिया बाँकी रहेको दाबी गर्दै सांसदहरूले रिट दायर गरेका हुन् ।
प्रदेश प्रमुखले उपचारका लागि काठमाडौं जानु अघि मुख्यमन्त्रीलाई होटेलमा शपथ खुवाएको घटनापछि प्रदेशमा राजनीतिक विवाद तीव्र बनेको छ । सोही विवाद समाधानका लागि यादवले झन्डै दुईतिहाइ बहुमतका सांसदको समर्थनसहित सर्वोच्चमा रिट दायर गरेका हुन् ।


