चितवन । आर्थिक वर्ष २०८१/०८२ को स्वास्थ्य मूल्याङ्कनमा चितवनको कालिका नगरपालिका जिल्लामा पहिलो बनेको छ । जनस्वास्थ्य कार्यालय चितवनले सार्वजनिक गरेको मूल्याङ्कनमा चितवनका ७ स्थानीय तहमध्ये कालिका नगरपालिका पहिलो, माडी नगरपालिका दोस्रो र खैरहनी नगरपालिका तेस्रो बनेको कालिकाका स्वास्थ्य शाखा प्रमुख दिपक भण्डारीले जानकारी दिए ।
जनस्वास्थ्य कार्यालय चितवनका प्रमुख निर्मल घिमिरेको अध्यक्षतामा आयोजित कार्यक्रममा जिल्ला समन्वय समिती चितवनका प्रमुख नारायण प्रसाद अधिकारी प्रमुख अतिथि रहेका थिए । स्वास्थ्य सूचकका आधारमा उत्कृष्ट कार्यसम्पादन गर्ने संस्थाहरूलाई प्रमुख अतिथि अधिकारीले सम्मान–पत्र प्रदान गरेका थिए ।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी गणेश अर्याल विशिष्ट अतिथि, राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्रका निर्देशक डा. श्रीराम तिवारी, बागमती प्रदेश स्वास्थ्य तालिम केन्द्रका निर्देशक दिपक प्रसाद तिवारी, बकुल्लर रत्ननगर अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट द्वय डा. मदन ज्ञावाली र डा. अंकुर पौडेल, प्रदेश आयुर्बेद औषधि उत्पादन केन्द्रका प्रमुख डा. सुरेश महर्जन, बागमती प्रदेश स्वास्थ्य मन्त्रालय र स्वास्थ्य निर्देशनालयका प्रतिनिधिहरू, बागमती प्रदेश APHIN का अध्यक्ष बिक्रम अधिकारी, चितवन जिल्लाका स्वास्थ्य शाखा प्रमुख तथा प्रतिनिधिहरू, निजी अस्पतालका प्रतिनिधि सहित विभिन्न संघ संस्थाका प्रमुखहरूको उपस्थिति रहेको थियो ।
जनस्वास्थ्य कार्यालयले समुदायमै पुगेर सेवा विस्तार र गुणस्तर सुधारको लक्ष्य तय गर्दै प्रत्येक वर्ष विभिन्न सूचकहरूका आधारमा स्थानीय तहको स्वास्थ्य गतिविधिको मूल्याङ्कन गर्दै आएको छ ।


