कांग्रेसमा ‘पुस र वैशाखको महाधिवेशन’ विवादमा मध्यमार्गको खोजी

काठमाडौं । ‘जेनजी’ प्रदर्शन र अराजकतापछिको परिस्थितिबारे छलफल गर्न बसेको नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक गत असोज २८ यता जारी छ । बैठक सुरु हुँदा विशेष कि नियमित महाधिवेशन भन्ने ‘झगडा’ अहिले बदलिएको छ ।

अहिले नियमित महाधिवेशन पुसमा कि वैशाखमा भन्नेमा अल्झिएको छ । तर, कांग्रेस आन्तरिक विवाद समाधान गरेर राष्ट्रिय मुद्दा र त्यसको सम्बोधनको खोजीमा प्रवेश गर्न सकेको छैन ।

रोचक पक्ष त के छ भने, देशभरबाट दुई हजार ४८८ महाधिवेशन प्रतिनिधिको हस्ताक्षरसहित विशेष महाधिवेशनको प्रस्ताव कांग्रेस केन्द्रीय कार्यालयको किताबको १०१ नम्बरमा दर्ता छ । त्यसबाहेक विशेष महाधिवेशनको चर्चा घट्दो क्रममा छ । मंगलबार (कात्तिक १८) विशेष महाधिवेशन हस्ताक्षर पक्षको बानेश्वर भेलाले पनि प्राथमिकतामा नियमित नभए मात्र विशेष महाधिवेशन भनेको थियो । विशेष भेलाका वक्ताहरूको झिनो संख्याले मात्र विशेष महाधिवेशनलाई एकमात्र विकल्पका रूपमा प्रस्तुत गरेको थियो ।

विशेष महाधिवेशन प्रस्तावमै पहिलो विकल्प नियमित महाधिवेशन भनिएको छ । त्यसैले होला विशेष महाधिवेशनको प्रस्ताव कांग्रेस केन्द्रीय कार्यालयबाट केन्द्रीय समितिको हल प्रवेश गरेको छैन । औपचारिक प्रस्तावपछि वैधानिक बाध्यता हुने भएर पनि केन्द्रीय समिति बैठकमा विशेष महाधिवेशन प्रस्ताव प्रवेश गरेको छैन ।

विशेष महाधिवेशनको मुद्दा हस्ताक्षर अभियानअघि महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले केन्द्रमा उठाएका थिए । त्यसअघि नै विशेष महाधिवेशनलाई विकल्पका रूपमा भने डा. शेखर कोइरालानिकट नेता गुरुराज घिमिरेले ‘आर्टिकल’ लेखेर बहस थालेका थिए । उनै घिमिरेसहित डा. शेखरनिकट नेताहरू देवराज चालिसे, उज्वल बरालसहित महामन्त्रीनिकट नेताहरू मनोजमणि आचार्य, डिल्ली सुवेदीसहितले अभियान अघि बढाए ।

 

SHARE:

प्रतिक्रिया दिनुहोस्

थप समाचारहरू

ताजा समाचार