काठमाडौं । भारतको गृह मन्त्रालयले नेपाली नागरिकप्रति कुनै पनि प्रकारको पूर्वाग्रह वा भेदभाव नगरेको स्पष्ट पारेको छ। एयर इन्डियाको विमानमार्फत काठमाडौंबाट दिल्ली हुँदै जर्मनी जाँदै गरेकी एक नेपाली नागरिकलाई दिल्ली विमानस्थलमा अपमान गरिएको आरोप सार्वजनिक भएपछि मन्त्रालयले स्पष्टीकरण जारी गरेको हो।
गृह मन्त्रालयद्वारा जारी विज्ञप्तिमा उक्त घटनालाई गलत ढंगले नेपाली नागरिकहरूमाथि भेदभाव गरिएकोजस्तो प्रस्तुत गरिएको भन्दै खण्डन गरिएको छ। मन्त्रालयका अनुसार सो घटनामा भारतीय अध्यागमन अधिकारीहरूको कुनै भूमिका छैन।
विज्ञप्तिमा भनिएको छ, “सम्बन्धित यात्रु एयर इन्डियाको उडानमार्फत काठमाडौंबाट दिल्ली आइपुगेकी थिइन्। उनले दिल्लीलाई ट्रान्जिटको रूपमा प्रयोग गरेकी थिइन्। त्यसपछि कतार एयरवेजको विमानमा जर्मनी जान खोज्दा एयरलाइन्सले उनको भिसा वैधता नपुगेको भन्दै यात्रा अनुमति नदिने निर्णय गर्यो र उनलाई काठमाडौं फर्काइयो।”
मन्त्रालयले स्पष्ट पारेको छ कि यस्तो निर्णय सामान्यतया गन्तव्य देशका नियम र आवश्यकताअनुसार एयरलाइन्सले नै गर्ने गर्छ, र यसमा अध्यागमन अधिकारीहरूको कुनै संलग्नता हुँदैन।
विज्ञप्तिमा थप भनिएको छ, “अन्तर्राष्ट्रिय ट्रान्जिटमा यात्रुहरूले आफ्ना आगामी यात्राका लागि अध्यागमन विभागसँग सम्पर्क गर्न आवश्यक पर्दैन। यो पूर्ण रूपमा एयरलाइन्स र यात्रुबीचको विषय हो।”
भारतले नेपालसँगको ऐतिहासिक र बलियो सम्बन्धलाई उच्च प्राथमिकता दिने बताउँदै मन्त्रालयले कुनै पनि भारतीय अधिकारीले नेपाली नागरिकप्रति पूर्वाग्रह वा भेदभाव नराखेको पुनः आश्वासन दिएको छ।


