चितवन,परिवेश नेपाल -GenZ आन्दोलनका क्रममा तोडफोड, आगजनी र लुटपाटमा संलग्न व्यक्तिहरूको खोजीमा जिल्ला प्रहरी प्रशासन सक्रिय बनेको छ। आन्दोलनकै समयमा खिचिएका फोटो–भिडियो, प्रत्यक्षदर्शीका बयानलगायतका आधारमा प्रहरीले दोषी पहिचान गर्ने प्रक्रिया अघि बढाएको हो।
जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक (एसपी) गोविन्द पुरीका अनुसार घटनामा संलग्न व्यक्तिहरूको सूची तयार गर्ने काम भइरहेको छ। उनले आगो लगाउने, सार्वजनिक सम्पत्ति तोडफोड गर्ने, लुटपाटमा संलग्न हुने तथा आन्दोलनलाई उक्साउनेहरूलाई कानुनी दायरामा ल्याउन अनुसन्धान तीव्र पारिएको जानकारी दिए।
“सार्वजनिक सम्पत्ति ध्वस्त पार्ने, आगजनी गर्ने र लुटपाटमा संलग्न कसैलाई पनि उम्कन दिइँदैन,” एसपी पुरीले भने, “फोटो, भिडियो फुटेज र प्रत्यक्षदर्शीका भनाइका आधारमा एकएक जनाको पहिचान गर्दैछौं।”
यसै क्रममा प्रहरीले घटनासम्बन्धी कुनै जानकारी वा प्रमाण भए सार्वजनिकरूपमा दिन सर्वसाधारणलाई आह्वानसमेत गरेको छ। घटनामा संलग्नलाई तत्काल कानुनी कारबाहीको दायरामा ल्याइने प्रहरीले जनाएको छ।


