चितवन । कालिका नगरपालिकाले नगर क्षेत्रका विभिन्न स्थानमा नगरपालिकाको अनुमति नलिई राखिएका विज्ञापनजन्य होर्डिङ बोर्ड हटाउन सम्बन्धित व्यक्ति, संस्था तथा विज्ञापनकर्तालाई ७ दिनको अल्टिमेटम दिएको छ।
नगरपालिकाले जारी गरेको सूचनामा अनुमति नलिई व्यावसायिक, प्रचारात्मक तथा विज्ञापनजन्य प्रयोजनका लागि राखिएका होर्डिङ बोर्डले नगरको सौन्दर्य, जनसुरक्षा तथा व्यवस्थित सहरी व्यवस्थापनमा प्रतिकूल असर पारेको जनाएको छ।
नगरपालिकाका अनुसार यसअघि पनि मापदण्डविपरीत सडक पेटी तथा पसलमा राखिएका सामग्री र होर्डिङ बोर्ड हटाउन सम्बन्धित पक्षलाई सूचना जारी गरिएको थियो।
पछिल्लो सूचनामार्फत नगरपालिकाले सूचना प्रकाशित भएको मितिले सात दिनभित्र अनधिकृत रूपमा राखिएका होर्डिङ बोर्ड आफैं हटाउन सम्बन्धित व्यक्ति, संस्था तथा विज्ञापनकर्तालाई आग्रह गरेको छ।
तोकिएको अवधिभित्र होर्डिङ बोर्ड नहटाए नगरपालिकाले आफैं हटाउने र त्यस क्रममा लाग्ने सम्पूर्ण खर्च सम्बन्धित व्यक्ति, संस्था वा विज्ञापनकर्ताबाट प्रचलित कानूनबमोजिम असुलउपर गर्ने चेतावनी दिएको छ।
नगरपालिकाले नगर क्षेत्रको सौन्दर्य, जनसुरक्षा र व्यवस्थित सहरी व्यवस्थापन कायम गर्न अनधिकृत रूपमा राखिएका होर्डिङ बोर्ड हटाउन आवश्यक रहेको जनाएको छ।


