भोटेकोशी बाढी प्रभावितको उद्धार, राहत र पुनःस्थापनाका लागि इच्छाकामनाका महत्वपूर्ण निर्णय

चितवन । भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनालाई प्रभावकारी बनाउन इच्छाकामना गाउँपालिका विपद् व्यवस्थापन समितिले विभिन्न महत्वपूर्ण निर्णय गरेको छ।

समितिको बैठकले जनप्रतिनिधि, कर्मचारी तथा गाउँपालिकाको विपद् व्यवस्थापन कोषबाट रु. ११ लाख प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा सहयोग गर्ने निर्णय गरेको छ।

त्यस्तै, बाढीका कारण गाउँपालिकाभित्र बेपत्ता भएका व्यक्तिहरूको खोजतलास तथा उद्धारका लागि प्रतिव्यक्ति रु. २५ हजार सहयोग उपलब्ध गराउने निर्णय गरिएको छ।

बाढी तथा पहिरोबाट क्षति पुगेका सडक, पार्क, बस्ती, खानेपानी आयोजना, कुलो लगायतका भौतिक संरचनाको मर्मत तथा सम्भारलाई प्राथमिकताका साथ अघि बढाउने निर्णयसमेत बैठकले गरेको गाउँपालिकाले जनाएको छ।

विपद्का समयमा हुन सक्ने जोखिम न्यूनीकरण तथा नागरिकलाई सचेत बनाउन विपद् सचेतना कार्यक्रम सञ्चालन गर्ने निर्णय गरिएको छ। साथै, बाढी प्रभावितको राहत तथा उद्धारमा थप सहयोग जुटाउन गाउँपालिका क्षेत्रभित्र रहेका विभिन्न संघसंस्था, शिक्षक तथा अन्य सरोकारवालालाई स्वैच्छिक सहयोगका लागि आह्वान गर्ने निर्णयसमेत गरिएको छ।

गाउँपालिका अध्यक्ष दानबहादुर गुरुङले भोटेकोशी बाढीबाट प्रभावित नागरिकलाई तत्काल राहत, उद्धार तथा आवश्यक सहयोग उपलब्ध गराउँदै क्षतिग्रस्त संरचनाको पुनःस्थापनामा गाउँपालिकाले सक्रिय भूमिका निर्वाह गर्ने बताउनुभयो।

उनले विपद्को यस कठिन परिस्थितिमा स्थानीय सरकार, जनप्रतिनिधि, कर्मचारी, संघसंस्था तथा आम नागरिकबीचको सहकार्यबाट प्रभावित परिवारलाई आवश्यक सहयोग पुर्‍याउन गाउँपालिका प्रतिबद्ध रहेको जानकारी दिनुभयो।-0-

SHARE:

प्रतिक्रिया दिनुहोस्

थप समाचारहरू

ताजा समाचार