धादिङ । पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा सडक भासिन थालेपछि वैकल्पिक मार्गको खोजी थालिएको छ। त्रिशूली नदीले सडकको जग तथा फेदमा निरन्तर कटान गरेपछि तत्काल सडक मर्मत गरी सञ्चालन गर्न सकिने अवस्था नरहेकाले वैकल्पिक मार्गको अध्ययन सुरु गरिएको हो।
नागढुङ्गा–मुग्लिन सडक आयोजना पश्चिम खण्डका सूचना अधिकारी इञ्जिनियर सचेन्द्र मिश्रका अनुसार त्रिशूलीको कटान बढ्दै गएसँगै सडक भासिने र चर्किने क्रम जारी छ। उनका अनुसार कृष्णभीरमा करिब १०० मिटर सडक भासिएको तथा चिरिएको छ। जोखिम बढेपछि पैदलयात्रासमेत रोकिएको छ।
पश्चिम खण्ड प्रमुख डिभिजनल इञ्जिनियर सजना अधिकारीले तत्काल सडक बनाउन सक्ने अवस्था नरहेको बताउँदै वैकल्पिक मार्गको खोजी भइरहेको जानकारी दिइन्। उनका अनुसार नदीले सडकको फेद कटान गरिरहेका कारण माथिल्लो भागसमेत जोखिममा परेको छ।
सडकको भित्तोमाथि बस्ती रहेकाले भित्तो काटेर तत्काल सडक सञ्चालन गर्न पनि कठिन रहेको अधिकारीले बताइन्। विषय विज्ञबाट स्थलगत तथा विस्तृत अध्ययन गराएर सडक कसरी सञ्चालनमा ल्याउने भन्ने विषयमा निर्णय गरिने आयोजनाले जनाएको छ।
सडक सञ्चालनका लागि धादिङको बेनीघाट–आरुघाट–गोरखा, गल्छी–धादिङको सुनौलो बजार–धादिङबेँसी–सल्यानटार–गोरखालगायतका वैकल्पिक सडकको अध्ययन भइरहेको छ। पृथ्वी राजमार्गबाट नदीपारि हुँदै तुलनात्मक रूपमा सुरक्षित सडक प्रयोग गरी गन्तव्यतर्फ जान सकिने सम्भावित मार्गसमेत खोजी भइरहेको छ।
आयोजनाका अनुसार पूर्वबाट आउने सवारीसाधनले मकवानपुरतर्फका वैकल्पिक सडक प्रयोग गर्न सक्नेछन् भने पश्चिम तथा पोखरातर्फबाट आउने सवारीका लागि गोरखातर्फबाट वैकल्पिक मार्ग खोजिँदैछ। राजधानीसँग देशका विभिन्न भाग जोड्ने प्रमुख मार्ग भएकाले ग्यासका बुलेटलगायत ठूला सवारीसाधन सञ्चालनलाई समेत ध्यानमा राखेर वैकल्पिक सडकको अध्ययन भइरहेको छ।
पृथ्वी राजमार्गमा दैनिक करिब १४ हजार सवारीसाधन आवतजावत गर्ने गरेका छन्। यसअघि कृष्णभीर क्षेत्रमा पहिरो तथा सडक कटानका कारण पटक–पटक समस्या हुने गरे पनि पछिल्ला वर्षमा मर्मत, सम्भार तथा पहिरो रोकथामका कामपछि अवस्था केही सहज बनेको थियो। पछिल्लो समय त्रिशूली नदीको तीव्र कटानले पुनः कृष्णभीरलाई जोखिममा पारेको हो।


