रसुवा बाढीपीडितका लागि एकै दिन ६० करोड बढी राहत कोषमा जम्मा

काठमाडौँ । रसुवाका बाढीपीडितको सहयोगका लागि प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा सोमबार एकै दिन ६० करोड २ लाख २० हजार १०६ रुपैयाँ ६२ पैसा सहयोग रकम सङ्कलन भएको छ।

विभिन्न ८३ उद्योगी, व्यापारिक समूह तथा परोपकारी व्यक्तिहरूले अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र निमित्त अर्थसचिव उत्तर खत्रीमार्फत चेक हस्तान्तरण गर्दै उक्त रकम सरकारलाई उपलब्ध गराएका हुन्।

सरकारले रसुवाका बाढीपीडितका लागि राहत तथा उद्धारमा खर्च गर्ने उद्देश्यले भदौ ११ गतेदेखि अर्थ मन्त्रालयमार्फत भौतिक रूपमा सहयोग रकम सङ्कलन सुरु गरेको थियो। सोमबार प्राप्त रकम त्यसयता एकै दिन सङ्कलन भएको सबैभन्दा ठूलो रकम हो।

अर्थ मन्त्रालयका अनुसार भदौ ११ गते २७ करोड ३३ लाख रुपैयाँ, भदौ १२ गते ३८ करोड ६० लाख ६४ हजार ३२४ रुपैयाँ, भदौ १४ गते ४ करोड ७९ लाख रुपैयाँ र २ लाख अमेरिकी डलर सहयोग प्राप्त भएको थियो।

यससँगै चार दिनमा अर्थमन्त्रीमार्फत प्रधानमन्त्री राहत कोषमा कुल १ अर्ब ३० करोड ७५ लाख ८ हजार ६६१ रुपैयाँ जम्मा भएको मन्त्रालयले जनाएको छ।

सङ्कलित रकममध्ये ८० हजार रुपैयाँ नगद रहेको छ भने बाँकी रकम ‘एकाउन्ट पेयी’ चेकमार्फत प्राप्त भएको हो। त्यस्तै, २ लाख अमेरिकी डलरको चेक समेत मन्त्रालयमा रहेको जनाइएको छ।

रसुवामा आएको बाढीबाट प्रभावित नागरिकको राहत, उद्धार तथा पुनःस्थापनामा सहयोग पुर्‍याउने उद्देश्यले विभिन्न क्षेत्रबाट राहत रकम जुट्ने क्रम जारी छ।-0-

SHARE:

प्रतिक्रिया दिनुहोस्

थप समाचारहरू

ताजा समाचार