रसुवा बाढीपीडितका लागि एकै दिन ३८ करोड ५६ लाख सहयोग
काठमाडौँ । रसुवा बाढीपीडितको सहयोगका लागि प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा एकै दिन ३८ करोड ५६ लाख ६४ हजार २२२ रुपैयाँ सहयोग प्राप्त भएको छ।
शुक्रबार अर्थमन्त्री डा. स्वर्णिम वाग्लेमार्फत अर्थ मन्त्रालयमा विभिन्न २७ संस्था तथा व्यक्तिले उक्त रकम सहयोग गरेका हुन्।
कोषमा सूर्य नेपाल प्रालिले १५ करोड रुपैयाँ, प्राइम बैंकले ३ करोड १० लाख, कृषि विकास बैंकले ३ करोड, नेपाल लाइफ इन्स्योरेन्सले २ करोड ५१ लाख तथा हिमालयन बुलियन कम्पनीले १ करोड १ लाख रुपैयाँ सहयोग गरेका छन्।
यस्तै, एग्रो थाईफुड्स, एसियन लाइफ इन्स्योरेन्स, सूर्यज्योति लाइफ इन्स्योरेन्स, उद्योगी विजयकुमार शाह, स्याकार ट्रेडिङलगायतले पनि एक करोड वा सोभन्दा बढी रकम सहयोग गरेका छन्।
डब्लूडब्लूएफ नेपाल, मोरङ अटो वर्क्स, जावलाखेल डिस्टिलरी, हिमालयन डिस्टिलरी, अल्फा अटोमोटिभ र सोलु हाइड्रोपावरका प्रतिनिधिले पनि राहत कोषमा सहयोग गरेका छन्।
नेपाल सिमेन्ट उत्पादक संघले ५१ लाख, मुक्तिनाथ विकास बैंकले ५० लाख, लुम्बिनी विकास बैंकले २५ लाख तथा अन्य विभिन्न संस्था र व्यक्तिले समेत सहयोग गरेका छन्।
शुक्रबार अर्थ मन्त्रालयमार्फत मात्रै कुल ३८ करोड ५६ लाख ६४ हजार २२२ रुपैयाँ प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा जम्मा भएको जनाइएको छ।


