देशभर आज जनैपूर्णिमा पर्व मनाइँदै

काठमाडौं । देशभर नव यज्ञोपवीत (जनै) एवं रक्षाबन्धन धारण गरी आज जनैपूर्णिमा पर्व मनाइँदैछ। वैदिक सनातन धर्मावलम्बीले बिहानैदेखि नदी, ताल, तलाउ तथा पोखरीमा स्नान गरी गुरु–पुरोहितबाट रक्षासूत्र बाँधेर पर्व मनाउने परम्परा छ।

जनैपूर्णिमाका अवसरमा तागाधारीले गुरु–पुरोहितबाट विधिपूर्वक मन्त्रिएको नयाँ यज्ञोपवीत (जनै) तथा डोरो (रक्षासूत्र) धारण गर्ने गर्छन्। यसरी मन्त्रिएको यज्ञोपवीत र रक्षासूत्र धारण गरे नकारात्मक तत्वबाट सुरक्षा प्राप्त हुने धार्मिक विश्वास रहिआएको छ।

मानव रक्षाका लागि जप, तप तथा पूजा गरी मन्त्रिएको रक्षाबन्धन अर्थात् डोरो वैदिक मन्त्रोच्चारणसहित ब्राह्मण पुरोहितले यजमानको दाहिने नाडीमा बाँधिदिने प्रचलन छ।

आजकै दिन ब्राह्मण, क्षेत्री र वैश्य गरी तीन वर्णका तागाधारीले आफ्नो जनै फेर्नुपर्ने विधानशास्त्रमा उल्लेख छ। धार्मिक तथा सांस्कृतिक महत्व बोकेको जनैपूर्णिमा पर्वलाई विभिन्न स्थानमा आ–आफ्नै परम्परा र विधिअनुसार मनाउने गरिन्छ।

SHARE:

प्रतिक्रिया दिनुहोस्

थप समाचारहरू

ताजा समाचार